सिलगढी: खस भारतीय हितकारी सम्मेलन केन्द्रीय समितिको कार्यकारिणी समितिको सभा आइतबार सुकुना गेम्स एण्ड स्पोर्टसको भवनमा केन्द्रीय अध्यक्ष मदनकुमार मिश्रको अध्यक्षतामा सम्पन्न भयो।सम्मेलनका महासचिव बलभद्र फुँयालको सञ्चालनमा सम्पन्न सभामा केन्द्रीय उपाध्यक्षहरु डीपी दाहाल,जेबी छेत्री, कोषाध्यक्ष अनिरुद्ध रावत, केन्द्रीय प्रचार प्रसार सचिव मनोहर शर्मा, पूर्व केन्द्रीय अध्यक्ष प्रा.कुमार छेत्री लगायत विभिन्न अञ्चलहरुबाट केन्द्रीय कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो। सभामा विविध विषयहरुमा चर्चा परिचर्चा गरियो जसमा एघार जनजातिको मुद्दा विषयमा पनि चर्चा गर्दै आउँदो शीतकालीन अधिवेशनमा यस मुद्दाले पार पाउने विषयमा आशा व्यक्त गर्दै यसको संघर्षको निम्ति संगठन तयार रहेको बताइयो।सभाले सांसद राजु बिष्टले खस भवन बनाउनको निम्ति नगद राशि घोषणा गरेको विषयमा पनि चर्चा गर्दै यसको निम्ति सिलगढी क्षेत्रमा भवन बनाउन सम्मेलन संघर्षरत रहेको जानकारी गराइयो। सम्मेलनले केन्द्रीय स्तरमा युवा र नारी प्रकोष्ठ गठन गर्ने निर्णय गर्दै यसको निम्ति प्रत्येक अञ्चलहरुबाट दुइ दुइ जना युवा र नारी सदस्यहरुको नाम ३० सेप्टेम्बर भित्रमा पठाइदिने आह्वान गर्दै त्यसपछि युवा र नारी प्रकोष्ठ गठन गरिने सभाले निर्णय गरेको छ।









