स्थापना दिवससँगै भव्य रुपमा सम्मान कार्यक्रम सम्पन्न
खरसाङ: खरसाङबाट प्रसारण हुने दार्जीलिङ पहाडी भेकको लोकप्रिय क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङले आफ्नो आठौं स्थापना दिवस आज (१० सेप्टेम्बर) भव्य रुपमा सम्मान कार्यक्रम आयोजना गरेर पालन गर्योl स्थापना दिवसको कार्यक्रम खरसाङको गोर्खा जन पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न भयो। सन् २०१६ देखि शुरु भएको नमस्ते खरसाङ च्यानलको स्थापना दिवस कार्यक्रममा आचार्य महेश शर्माद्वारा गरिएको सरस्वती बन्दनाबाट शुभारम्भ गरियो। कार्यक्रममा स्वागत नृत्य शान्बी प्रधानले प्रस्तुत गरिन्l आकाशवाणी खरसाङका सुपरिचित उद्घोषक तथा नमस्ते खरसाङका कार्यक्रम प्रस्तोता उमेश कार्कीडोलीले स्वागत सम्भाषणका साथमा कविता वाचन गरे। कार्यक्रममा नमस्ते खरसाङका मूल संस्थापाक तथा प्रबन्ध निर्देशक निर्मल गुरुङले च्यानलको विषयमा विस्तृत रूपमा जानकारी गराए। उनले नमस्ते खरसाङको स्थापना साथै सन् २०२० देखि शुरु गरिएको यसैको समाचार च्यानल एनके समाचारले अहिलेसम्म विभिन्न अड्चनहरू झेल्दै आठ वर्ष पूरा गरेको बताए। उनले नमस्ते खरसाङको आठौं स्थापना दिवससम्म सहयोग गर्नेहरू सबैप्रति आभार प्रकट गरेका छन्। यस आठौं स्थापना दिवसको अवसरमा नमस्ते खरसाङका सबै सल्लाहकारहरूलाई सम्बर्ध्दना जनाइयो। कार्यक्रममा बिमल गुरुङ, सुवास छेत्री, दिव्यत्तम अधिकारीद्वारा गीत अनि हनोक थापाले कविता पठन गरे। निर्मल गुरुङ र उमेश कार्कीडोलीले सञ्चालन गरेको कार्यक्रममा नमस्ते खरसाङका समाचार वाचकहरूलाई सम्बर्ध्दना जनाइयो। यसै कार्यक्रममा नमस्ते खरसाङमा अन्तर्वार्ता दिएका वरिष्ठ साहित्यकारहरू, संगीतकारहरू, गायक गायिकाहरू, समाजसेवीहरू, कलाकारहरू, खेलकुदसित सम्बन्धित व्यक्तिहरू लगायत अन्य विशिष्ठ व्यक्तिहरूलाई सम्मान जनाइयो। त्यसरी नै हालैमा आकाशवाणी खरसाङबाट अवकाशप्राप्त सुपरिचित संगीतकार महेश्वर लामालाई पनि सम्बर्ध्दना जनाइएको थियो।

कार्यक्रममा समाचार वाचकद्वय सिल्भेष्टर लेप्चा र सबिना गिरीले रमाइलो युगल नृत्य प्रस्तुत गरेl कार्यक्रममा डा. जीपी शर्मा र डा. देवीकला शर्माले पनि युगल गीत प्रस्तुत गरे। यस कार्यक्रममा नेपाली संसारका सुपरिचित संगीतकार चन्दन लमजेल र सुपरिचित गायिका डेजी बराईलीले प्रसिध्द गीत ‘भैंसी लड्यो है माया भीरबाट हेर’ प्रस्तुत गरे भने संगीतकार एंव गायक महेश्वर लामाले आफ्नो प्रस्तुति दिए। कार्यक्रममा दार्जीलिङ, खरसाङ, बिजनबारी, कालेबुङ, सिलगढीलगायत विभिन्न क्षेत्रहरूबाट कलाकारहरू उपस्थित थिए। यस आठौं स्थापना दिवस विषयमा नमस्ते खरसाङका प्रबन्ध निर्देशक निर्मल गुरुङले विस्तृत रूपमा जानकारी गराए। उल्लेखनीय छ, नमस्ते खरसाङ टीभी च्यानलले विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छl सर्वासाधारणको आवाज बनेको नमस्ते खरसाङ च्यानल नयाँ प्रतिभाहरूका निम्ति उकेरा बनेको छ भने विचारशील व्यक्तिहरूका निम्ति विचार साझा गर्ने एउटा दह्रो माध्यम बनेको छl









