९ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शनिवार चारवटा म्याच खेलियो। पहिलो म्याचमा सेण्ट रोबर्टस यल्लो टीमले सेण्ट जोसेफ्स स्कूल, मंगपूलाई ६-०-ले पराजित गऱ्यो। म्याचमा ४ गोल गर्ने विजेता टीमका प्रतीत छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। दोस्रो म्याचमा टर्नबुल हाई स्कूलले शिक्षासंघ हाई स्कूललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमका छेवांग तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। तेस्रो म्याचमा सोनादा हाई स्कूलले लोवर चोंगथोंग हाई स्कूललाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रकाश गुरुङले २ गोल गरे। टीमको निम्ति एकमात्र गोल गर्ने लोवर चोंगथोंग हाई स्कूलका अरुश राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी दिनको चौथो तथा अन्तिम म्याचमा मंगपूको शारदा हाई स्कूलले गत संस्करणको विजेता आरकेएसपी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट लाडुप बल तामाङ र ओबेड मंगरले गोल गरे। शारदा हाई स्कूलका निमा तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा सोनादा हाई स्कूल र शारदा हाई स्कूल क्वार्टर फाइनलमा पुग्ने पहिलो दुईवटा टीम बन्यो। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।