९ सेप्टेम्बरः मटेलीमा डुवर्स भिजन सोसाइटीको तत्त्वावधानमा आयोजित डुवर्स कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङको जर्जियन फूटबल क्लबले फाइनलमा स्थान बनायो। मटेली हाई स्कूल खेल मैदानमा शनिवार भएको पहिलो सेमिफाइनल म्याचमा जर्जियन फूटबल क्लबले शक्तिशाली ४/८ गोर्खा राइफल्सलाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट बिजु भुजेल र कुञ्जमान थापाले गोल गरे। अब आइतवार खेलिने दोस्रो सेमिफाइनल म्याचमा फाइभ स्टार क्लब (झापा, नेपाल) र डुवर्स इलेभेनबीच भिड़न्त हुनेछ। फाइनल १२ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।