खरसाङ: मानव उत्थान सेवा समिति दार्जिलिङ तहसील अन्तर्गत पचेङ्ग शाखाको तत्वधानमा गुरु पूजाको अवसरमा सन्त समागम कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको प्रथम चरणमा भर्खर मात्र मणिपुरको नौनीमा शहिद भएका वीर शहिदहरूलाई श्रद्धाञ्जली कार्यक्रम अध्यक्ष महात्मा अदिना बाईजीको अध्यक्षतामा तस्बिर अघि दिप प्रज्वलन एवं क्यान्डल बालेर श्रद्धाञ्जली अर्पण गरियो। दोस्रो चरणको कार्यक्रम उत्तर पूर्वाञ्चल क्षेत्र अध्यक्षा महात्मा अदिना बाइजी, दार्जिलिङ तहसिल प्रभारी महात्मा निलम्बरी बाइजी एवं महात्मा कृतिका बाइजी एवं रेश्मा बाइजी सन्त महात्मा साथै उत्तर पूर्वाञ्चल क्षेत्रका सह सचिव चन्दन लकान्द्री साथै उपाध्यक्ष दिपक राई, तहसिल सचिव भक्त लामा, युवा प्रकोष्टका कुमार योञ्जन एव अन्य उपस्थित थिए भने कार्यक्रम दिपप्रज्वलन साथै गुरू महारजीको तस्वीरमा खादा अर्पण गरियो। इन्दिरा छेत्री, शरण गुरुङ, सागर मणि प्रधान, रुबेन सुब्बा, मञ्जीला शर्माले भजन प्रस्तुत गरेका थिए भने बाल सभाका नानीहरूले भक्तिमा आधारित नृत्य एवं भानुभक्त र घाँसीको नाटक प्रस्तुत गरेका थिए। कार्यक्रमको अघिल्लो चरणमा मंडल प्रमुख डुर्वस मानव सेवा दलका नवदिप लामाले आफ्नो विचार व्यक्त गर्दै युवाहरूलाई सत्संगको खाँचो रहेको र उनीहरूलाई आध्यात्मिक क्षेत्रमा लगाउनु पर्ने बताए। त्यसरी नै नेपाल मानव धर्म प्रचारक उत्तम गिरीले आफ्नो सत्संग विचारमा युवाहरूलाई सम्बोधन गर्दै यदि अज्ञानता समाजमा पस्यो भने समाज नै नष्ट भएर जान्छ त्यस्तै अध्यात्ममा पसे भने संसारमा अन्धकार छाउँछ भनी बताएका छन्। अज्ञानताको अन्धकार छाईरहेको छ संसारमा र सतगुरु सतपालजी महाराजले अज्ञानताको अन्धकार हटाउने कोशिश गर्नु हुँदैछ र हामी पनि उनकै दिशा निर्देशमा ज्ञानको प्रचार गरेर अज्ञानताको अन्धकार हटाउँदै छौं भनी बताए। उनले अघि भने रामकृष्ण परमहंसले पनि तोतापूरी महाराज समक्ष गएर सत्संग सुने र ज्ञान लिए। उनले भने मानव धर्ममा धर्म परिवर्तन गराउनु हुन्न र मानव धर्म भनेकै मनुष्यको धर्म हो र यहाँ विचार परिवर्तन हुन्छ न कि धर्म परिवर्तन हुन्छ भनी बताएका छन्। दार्जिलिङ तहसिल प्रभारी माहात्मा निलम्बरी बाइजीले आफ्नो सत्संग विचार राख्दै विवेकशील प्राणी भन्ने मनुष्यलाई पक्कै पनि आफ्नो घृणित कार्यहरूमा लाज एवम् संकोच हुनु पर्ने हो, जहाँ मैत्री, दया, करुणा र प्रेमको भाषा बोल्नेहरूले ती अवोध, निर्दोष र अज्ञानी प्राणीको हत्या गरेर आफ्नो स्वार्थ पूर्ति गर्नु उचित छैन भनी बताएका छन्। उनले मानव चोला पाएपछि आत्माको ज्ञान पाएर जीवनलाई धन्य बनाउनु पर्दछ, गुरु त धेरै छन् तर समयको सतगुरु एकै हुन्छ जसले हामीलाई आत्माको ज्ञान दिनुहुन्छ। यदि हामीलाई भौतिकको थोकहरू जन्न र पढ्न छ भने हामी भौतिक स्कुल जानु पर्दछ भने आध्यत्म अथवा धर्म सिक्नु पर्छ भने सतगुरुको शरणमा जानुपर्छ सतगुरुले मात्रै ज्ञानले त्रीनेत्र खोलेर आफु भित्रको दैविक दर्शन पाउन सकिन्छ भनी बताएका छन्। उ० पू० क्षेत्र अध्यक्ष अदिना बाइजीले आफ्नो सत्संग विचारमा ईश्वर सर्व ब्यापक हुनुहुन्छ, यो मानव देह मानिसलाई देवताले पनि पाउन दुर्लभ छ, मनुष्य जीवनको उद्देश्य अथवा ध्यय भनेको परमात्माको प्राप्ति अथवा मोक्ष्य प्राप्त गर्नु हो ,यो जीवन सफल पार्नु हो। यसको लागि भगवानको शरणमा जानु पर्छ। शरणमा जानुको अर्थ हो मन , वचन र कर्मले भगवान प्रती आस्था राख्नु र यसको लागि नियममा बस्नु अति आवस्यक हुन्छ भनी बताएका छन्। उक्त कार्यक्रममा दार्जिलिङ तहसिलका १३ वटा शाखाका प्रेमीहरू उपस्थित थिए भने कार्यक्रमको सञ्चालन भक्त लामाले गरेका थिए। अन्त्यमा शाखा सचिव सुदर्शन राईले धन्यवाद ज्ञापन राखेका थिए। आरतीपछि कार्यक्रमको समापन भयो भनी जानकारी संस्थाको तर्फबाट अविनाश मोथेले दिएका छन्।