२०२४ मा एसकेएम पार्टीले ३२ मा ३२ सीट जित्नेछः अरुण उप्रेती

au_485

गान्तोकः एसकेएम पार्टीले आरिथाङ निर्वाचन क्षेत्र अन्तर्गत विभिन्न वार्डमा धारावाहिकरूपमा वार्डस्तरीय समन्वय सभा आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज देउरालीस्थित समाज घरमा सिक्किम विधानसभाका अध्यक्ष एवम् आरिथाङ निर्वाचन क्षेत्रका विधायक अरूण उप्रेतीको मुख्य अतिथ्यमा समन्वय सभा सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले आगामी २०२४ को चुनाउमा एसकेएम पार्टीले ३२ मा ३२ नै सीट जित्ने दावी गरे। आरिथाङ निर्वाचन क्षेत्र एसकेएम पार्टीको गढ रहेको बताए। उक्त निर्वाचन क्षेत्रबाट एसकेएम पार्टीले निरन्तर दुईपल्ट चुनाउ जितेको अवगत गराए।

जति जति चुनाउ नजिक आउँदैछ, त्यति नै राजनीतिक पार्टीहरू तातिन्दै गइरहेको छ, तर कतिपय राजनीतिक पार्टीहरू केवल राति राति जनताको घरमा गएर जनतालाई दीगभ्रमित तुल्याउने काम गरिरहेको उप्रेतीको भनाइ थियो। यसरी राति हिँडने व्यक्तिहरूसँग जनता होसियार रहनु पर्ने सुझाउ दिए। एसकेएम पार्टी सरकारमा आएपछि शहरमा बसोबासो गर्ने गरीबहरूको निम्ति पनि सरकारले घर निर्माणको साथै अन्य सहुलियतहरू उपलब्ध गराउँदै आइरहेको जानकारी गराए। विशेष गरेर आरिथाङ निर्वाचन क्षेत्रमा धेरै विकासका कार्यहरू भएको र उक्त निर्वाचन क्षेत्रका धेरै जना युवाहरूले काम पाएको उप्रेतीले ठोकुवा गरे। यस निर्वाचन क्षेत्रका युवाहरूलाई वर्तमान सरकारले गरिखाने बनाएको उनले किटान गरे।

उनले पार्टीका युवा साथै समर्थकहरूलाई नेताको आदेशलाई शिरोपर राखेर काम गर्नुपर्ने आग्रह गरे। आगामी २०२४ मा सम्पन्न हुने विधानसभा चुनाउमा पार्टीले आफूलाई टिकट नदिए तापनि पार्टीको हितमा समर्पित भावना लिएर काम गर्ने संकल्प गरे। पार्टीको निर्णयलाई सबैले मान्नु पर्ने पनि उनले सबैलाई अवगत गराए। उनले नीति र सिद्धान्त नभएको व्यक्तिले जनताको काम गर्न नसक्ने पनि किटान गरे। कतिपय व्यक्तिहरू दिउँसो एसकेएम पार्टी र राति भएपछि विपक्षी पार्टीमा हिँडने गरेको बताउँदै यदि कुनै व्यक्ति विपक्षी पार्टीमा जान्छ भने प्रजातन्त्रमा त्यो उसको अधिकार रहेको जनाए। एसकेएम पार्टीले गर्छु भन्दैन तर गरेर देखाउँदै आएको उनले धेरै उदाहरण दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement