गान्तोकः राज्य आपदा प्रबन्धन प्राधिकरणको तत्वावधानमा आयोजित उत्तर जिल्लास्थित दक्षिण लोन्हाक झील अनि शाको-छो झीलको स्थितिबारे खोजी र अध्ययन गर्नको निम्ति एक अभियानको टोलीलाई मन्त्री कुङ्गा निमा लेप्चाले आज झण्डा हल्लाएर गान्तोकबाट प्रस्थान गराए। यस कार्यक्रममा वन विभागका मन्त्री कर्मा लोडे भोटिया, मुख्य मन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
राजधानीस्थित एउटा होटलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य दक्षिण लोन्हाक झील र शाको-छो झीलमाथि अध्ययनबारे थालिएको अभियान सम्बन्धि मानिसहरुलाई जानकारी गराउनु रहेको थियो। सिक्किममा रहेका यी दुवै झील वरिपरिका स्थलहरुका लागि सम्भावित खतरा मानिने गरिन्छ तसर्थ यस अभियानमा टोलीले यसको स्थितिबारे अध्ययन गर्नका साथै विशेषगरी स्विजरल्याण्डबाट आएका अधिकारीवर्गले त्यस क्षेत्रमा कुनै प्रकारको हिम नदी प्रकोप हुन अघि नै खतराको संकेत दिने अत्याधुनिक उपकरणहरु पनि जडान गर्ने जानकारी मन्त्री कुङ्गा निमा दिएका छन्।
यस अभियानमा राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरण, राज्य आपदा प्राधिकरण अनि एसडीसीबाट जम्मा ३१ सदस्य टोली आज गान्तोकबाट प्रस्थान भएका छन्। सो टोलीले २ भागमा विभाजन भएर यी दुई झीलहरुमा उत्पन्न हुने हिम नदी प्रकोपबारे सम्भावित खतराको आकलन गर्ने र यसको समाधानका उपायहरु कसरी सृजना गर्नुपर्ने भन्नेबारेमा अध्ययन र खोजबिन गर्नेछ। यस अभियानको समापन आगामी २१ सेप्टेम्बरको दिन समापन हुने जानकारी गराइएको छ।