स्वतन्त्र आवाजको काव्य कला कुञ्ज प्रतियोगिताको पुरस्कार वितरण

si-3

गान्तोकः सिक्किमको एउटा डिजिटल मिडिया हाउस स्वतन्त्र आवाजले आयोजन गरेको काव्य कला कुञ्ज सिजन एकको पुरस्कार वितरण कार्य आज सम्पन्न भयो। गान्तोकको मनन केन्द्रमा आयोजित पुरस्कार वितरण समारोहका अवसरमा काव्य कला कुञ्ज अन्तर्गत गायन अनि कविता वाचन प्रतियोगितामा विजेता बनेका प्रतियोगीलाई पुरस्कार वितरण गरिएको थियो।आयोजक पक्षले दुवै वर्गका प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थानमा आएका विजेता प्रतियोगीलाई नगद पुरस्कार, स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरेको थियो भने शीर्ष सातका प्रतियोगीलाई पनि प्रमाणपत्र प्रदान गरेको थियो। काव्य कला कुञ्ज स्वतन्त्र आवाजले आयोजन गरेको अनलाईन गायन तथा कविता प्रतियोगिता हो जसमा निर्णायकहरूले चयन गरेका प्रतियोगीलाई आज पुरस्कार दिइयो।

काव्य कला कुञ्जको गायन प्रतियोगिताबाट मोनिका राई पहिलो, लह्मु तामाङ दोस्रो र लिला कुमारी दियाली तेस्रो बनेका थिए। यस नै कविता प्रतियोगितामा प्रमिल तामाङ पहिलो, विश्वजित बासकोटा दोस्रे र विकास राई तेस्रो बनेका थिए। पुरस्कार वितरण समारोहमा सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोले मुख्य अतिथि र गान्तोक निर्वाचन क्षेत्रका विधायक वाईटी लेप्चा विशेष अतिथि रहेका थिए। यस अवसरमा लोक सङ्गीतको माध्यमबाट शहरका विभिन्न स्थानमा बसेर मानिसहरूलाई मनोरञ्जन प्रदान गर्दै आएका सन्तोष गन्धर्व र चन्द्र बहादुर बराइलीलाई आयोजक पक्षले अभिनन्दन जनायो।

कार्यक्रमलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले स्वतन्त्र आवाजले गरेको प्रयासको सराहना गरे। साहित्य, सङ्गीत र कला क्षेत्रलाई विकास र यस क्षेत्रमा रहेका साधकहरूलाई सहयोग गर्न वर्तामन एसकेएम सरकारले समर्पित भएर काम गरिरहेको पनि उनले बताए। काव्य कला कुञ्जको आयोजनको उदेश्यमाथि युवा पत्रकार नर बहादुर घिमिरे र आयोजक समितिका अध्यक्ष भीम रावतले प्रकाश पारेका थिए भने स्थापक एरोन राईले यस प्रतियोगितालाई निरन्तरता दिने बताए।

About Author

Advertisement