कुनै पनि महान् उपलब्धि कहिले पनि स्वार्थको परिणाम हुँदैन तर नि:स्वार्थ रूपमा हुन्छ: दिलकुमारी भण्डारी

IMG-20230909-WA0381.jpg

खरसाङ: बुध्दिमान प्रधान बमपले भाषा मान्यताको आन्दोलन र भारतीय संसद भवनमा शहीद मेजर दर्गा मल्लको सालिग निर्माणमा नि:स्वार्थ रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए भनी भाषा संग्रामी एंव सिक्किमका पूर्व सासंद दिलकुमारी भण्डारीले बताएकी छन्। उनी आज खरसाङमा सम्पन्न भाषा संग्रामी बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। उनले आफ्नो प्रमुख अतिथिको आशनबाट बोल्दै भनिन् -‘बुध्दिमान प्रधान बमपको कार्यले प्रभावित बनेको बताउँदै भाषा मान्यताको श्रेय मलाई दिनुहुन्छ सबैले। तर म यस कुराप्रति असहज अनुभव गर्छु कारण मैले मात्र गरेको होइन। हामी सबैले मिलेर सामुहिक रूपमा काम गरेर भाषाले मान्यता पाएको हो। यो सामुहिक सफलता थियो। म त्यो ठाउँमा पुग्दा भाषाको मांग चरममा पुगेको थियो अनि सबै कुरा मिलेर अघि बढ्दा भाषाले मान्यता प्राप्त भएको थियो।’ उनले अघि भनिन् – भाषा मान्यतामा कसले कति योगदान दिएका थिए भन्ने विषयमा बमपजीले लेख्नु भएको भए राम्रो हुने थियो होला भन्ने मेरो सोच थियो। यसै कुराबाट उनको यो अभिनन्दन ग्रन्थ प्रकाशित भएको छ।’ दिलकुमारी भण्डारीले अझ भनिन् – भाषा अान्दोलनको इतिहास हेर्दा एउटा पाठ सिकाएको छ, त्यो पाठ कुनै पनि महान् उपलब्धि कहिले पनि स्वार्थको परिणाम हुँदैन तर नि:स्वार्थ रूपमा हुन्छ। भाषा मान्यता प्राप्त भएपछि भानेरापको समिति विघटन गरियो कारण यस संगठनले भविष्यमा कुनै भोट माग्नु पर्ने आवश्यकता थिएन कारण यसको मूल उद्देश्य थियो भाषा मान्यता प्राप्ति। यो कुरा अहिलेको पिँढीलाई पनि जान्न आवश्यक छ।”
भाषा संग्रामी दिलकुमारी भण्डारीले भनिन् -‘हामीले हाम्रो भाषा पायौं कारण हामी भारतीय राष्ट्रीयता नागरिकता भएको कारणले हामीले भाषा पाएका हौं। तपाई आफुलाई नेपाली कि गोर्खा जे भन्न मन लागे पनि भन्नु हवस तर यो कुरामा द्वन्द गरेर आफ्नै भावी सन्तानलाई त्रिशंकु बनाउने कार्य ठीक होइन। हामी भारतीय हौं। भारतीय राष्ट्रीय भएर नै अघि बढ्नुपर्छ। हामीमा हीनताको भावना हुनु हुँदैन। नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा गौरवको साथमा बसेको छ।”
दिलकुमारी भण्डारीले भाषा संग्रामी बुध्दिमान प्रधान बमपको विभिन्न योगदानहरू विषयमा प्रकाश पारेका थिए।

About Author

Advertisement