कालचिनीः भारतीय नेपाली साहित्यको एकजना मुर्धन्य साहित्यकार नरबहादुर दाहालको निधनले सम्पूर्ण नेपाली साहित्य जगतमा शोकको लहर छाएको छ भने शनिबार तिनको आत्माको चीर शान्तिको कामना गर्दै सृजनशील समूह कालचिनीले समूहको कार्यालयमा शोकसभा पालन गरेको जानकारी सृजनशील समूहको सचिव चन्दन भट्टराईले दिएका छन्। शोकसभामा समूहका संस्थापक तथा संरक्षक साहित्यकार आसबहादुर सुब्बा लगायत कथाकार तथा कवि एवम् समूहको संयोजक अबीर खालिङ, संरक्षक महिपाल सुब्बा, समूहका कर्मठ सदस्यहरू सञ्जोग लामा, सचिव चन्दन भट्टराई, कवि मिलन माझी, कवि ज्ञानलाल दर्नाल, चन्दन भुजेल, तुलसी सुब्बा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
स्व. नरबहादुर दाहालको प्रतिकृतिमा धुपदीप प्रज्वलन पश्चात तिनको स्मृतिमा एक मिनटको मौन धारण पालन गरिएपछि साहित्यकार नरबहादुर दाहालको साहित्यिक चर्चा र तिनको डुवर्सप्रतिको प्रेम सम्बन्धमा आख्यानकार अबीर खालिङले संक्षिप्त मन्तव्य राखेको थियो। यसै क्रममा नै साहित्यकार आसबहादुर सुब्बाले स्व. दाहालको जीवनीबारे छोटो जानकारी प्रस्तुत गरेको थियो। साहित्यकार नरबहादुर दाहाल भौतिक रुपले अब यस संसारमा नरहेता पनि तिनको कृति सदैव अमर रहने र वर्तमान साहित्यनुरागी र कवि, लेखक र स्रष्टाहरू तिनीबाट अभिप्रेरित अनि अनुप्राणित रहने उपस्थित सदस्यहरूले जनाएका छन्।