गुजरातको जामनगरबाट सिक्किमका दुई विद्यार्थी निखोज

IMG-20230909-WA0430.jpg

गान्तोकः गुजरातको जामनगर शहरबाट १२ दिन अघिदेखि २८ अगस्तदेखि सिक्किमका दुईजना विद्यार्थी हराएको घटना प्रकाशमा आएको छ। जामनगरस्थित प्रणामी ग्लोबल स्कूलबाट सिक्किमका दुई विद्यार्थीसहित त्यहाँ अध्ययनरत कुल तीनजना विद्यार्थी हराएका छन् जसको खोजी कार्यमा सहयोगका लागि विद्यार्थीका परिवार पक्षले सिक्किम सरकार समक्ष गुहार लगाएका छन्। हराएका विद्यार्थी पाल्जोर तामाङका अभिभावकले आज शनिवार गान्तोकमा पत्रकार सम्मेलन गरेर सरकार र मुख्यमन्त्री पीएस तामाङलाई खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरे। सिक्किमका १५ वर्षीय पाल्जर तामाङ र देवराज सुब्बा जामनगरबाट हगराएका छन् भने उनीहरूको साथमा नेपाल निवासी एक विद्यार्थी पनि निखोज भएका बताइएको छ। आज पत्रकार सम्मेलन गरेर पाल्जर तामाङकी आमा अरुणा तामाङ र पिता कर्मा तामाङले राज्य सरकार र विशेष गरी मुख्यमन्त्री पीएस तामाङलाई आफ्नो छोराको खोजीमा सहयो गरिदिने अनुरोध गरेका छन्।

पूर्व सिक्किमको सिङ्गताम क्षेत्रअन्तर्गत अप्पर चिसोपानी डोके निवासी अरुणा लामाले पत्रकारहरूसित कुराकानी गर्दै बताएअनुसार छोरा पाल्जर तामाङ यसै वर्षको जनवरी महिनादेखि जामनगरको प्रणामी ग्लोबल स्कूलमा आठौं कक्षमा अध्ययनरत थिए। उनले जानकारी दिंदै भनिन्, हामी मध्यम वर्गीय परिवारबाट हौं। जामनगरमा एउटा राम्रो स्कूलमा निःशुल्क अध्ययन गराइन्छ भन्ने कुरा थाहा पाएपछि र त्यसबारे सामान्य खोजबिन गरेपछि नानीलाई सिक्किमका अन्य तीनजना नानीहरूका साथमा पठाएका थियौं। नानी स्कूलमा खुशी थिए तथा कुनै प्रकारको गुनासो गरेको थिएन। नानी केही चन्चले स्वभावको अवश्य रहेको तर कहिल्यै पनि घरबाट भागेर कतै गएको भने थिएन्।

प्राप्त जानकारीअनुसार, २८ अगस्तको दिन जामनगरको प्रणामी ग्लोबल स्कूलको छात्रवासबाट तीनजना नानीहरू हराएका छन्। यस बारेमा आफूहरूलाई २९ अगस्तको दिन सिक्किमबाट गएका अन्य एकजना विद्यार्थीले फोन गरेर जानकारी गराएको श्रीमती अरुणा तामाङले बताइन्। “लगतै हामीले स्कूलमा फोन गरेर नानीको बारेमा जान्न चाँहदा एकजना गुरूजीले होस्टलबाट तीनजना नानीहरू भागेको पुष्टी गर्नुभयो। यस बारेमा जामनगर थानामा प्राथमिकी दर्ता गराएको तर पुलिसले तत्काल कार्यवाही नगरेकोले नानीहरूलाई भेटाउन नसिरहेको उनले थप बताए। त्यो कुरा थाहा पाएपछि हामीले यहाँ सिक्किम पुलिसको क्राइम ब्राञ्चमा गएर गुनासो पोखायौं। क्राइम ब्राञ्चबाट जामनगर थानामा सम्पर्क हुँदा मात्र थाहा भयो कि स्कूल पक्षबाट प्राथमिकी नै दर्ता गरिएको थिएन”, उनले भनिन्। सिक्किम पुलिसको पहलमा मात्र प्राथमिकी दर्ता गरेर जामनगर थानाले हराएका नानीहरू खोज्ने पहल शुरु गरेको छ तर पनि आजसम्म पत्तो लाग्न सकेको उनले थप बताइन्।

दुःखी अभिभावकले नानीहरूको खोजीमा स्कूल पक्षबाट लापरवाही गरिएको आरोप लगाएका छन्। अर्कोतिर सिक्किम सरकार र मुख्यमन्त्री पीएस तामाङलाई नानी खोजीदिने अपील गरेका छन्। “हामीले सक्दो सबै पहल गरिसक्यौं। कमजोर आर्थिक अवस्थाको कारण आफै गुजरात गएर नानीहरूको खोजी गर्न भने सकिरहेका छैनौं। यस्तोमा हाम्रो सिक्किम सरकार र मुख्यमन्त्रीमाथि अन्तिम आश रहेको छ। हाम्रो नानीलाई खोजी निकालिदिएमा हामी मुख्यमन्त्री र राज्य सरकारप्रति सदैव आभारी रहनेछौं, श्रीमती तामाङले भनिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement