पवन चामलिङद्वारा वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त

nbd._605

गान्तोकः पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधनमा हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उनको निधन नेपाली साहित्य सरकारको निम्ति अपुरणीय क्षति बताएका छन्। एसडीएफ अध्यक्ष चामलिङले आज जारी आफ्नो शोक सन्देशमा वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधन नेपाली साहित्य संसारको निम्ति अपुरणीय क्षति हो भनी बताएका छन्। उनले भनेका छन्, युवावस्थादेखि नै साहित्य सिर्जना, सम्पादन अनि साहित्यिक-राजनैतिक सङ्गठनात्मक गतिविधिहरूमा संलग्न एवम् सक्रिय रहनुभएर उहाँले नेपाली भाषा-साहित्य र समाजोत्थानमा अतुल्य योगदान दिनुभएको छ। साहित्यिक-सांस्कृतिक सिर्जनशीलता अनि समाज निर्माणको कार्यमा नै उहाँ आजीवन उत्सुक, जागृत र क्रियाशील रहनुभयो।

कविता, कथा, उपन्यास र जीवनी लेखनद्वारा नेपाली समाजलाई योगदान दिनुहुने नरबहादुर दाहाल एक सच्चा साहित्यकार स्रष्टा हुनुहुन्थ्यो। साहित्यिक रचनाको सन्दर्भमा सत्तरीको दशकदेखि नै म उहाँसँग व्यक्तिगत परिचय र संसर्गमा रहें। यस अवधिमा मैले उहाँलाई हरसमय, हर अवस्थामा साहित्य सिर्जना र साहित्य विकासको ध्याउन्नमा रहेको पाएँ’- चामलिङले भनेका छन्।उनले अघि भनेका छन्, १९५०-को दशकमा कविता सङ्कलन (उन्माद, १९५८) प्रकाशित भएदेखि नै उहाँको साहित्यिक सक्रियता र सिर्जनशीलता कायम रह्यो। वरपिपल कथासङ्ग्रह (१९६०), मध्यरातको तारा (उपन्यास, १९६५), तिम्रो पिरती नै मेरो गीत(कविता सङ्ग्रह, १९७०) जस्ता कृतिहरू दिएर उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा महत् योगदान दिनुभएको छ। उहाँद्वारा लिखित पादरी गङ्गाप्रसाद प्रधान, डम्बरसिंह गुरुङ अनि कवि नरेन्द्रप्रसाद कुमाइका जीवनीहरू हाम्रो साहित्य/समाजका निधिहरू हुन्।

उनले भनेका छन्, भारतीय नेपाली समाजको सांस्कृतिक र राजनैतिक जागरण र विकासमा पनि उहाँको चिरस्मरणीय योगदान रहेको छ। उहाँको जीवन र कृतिहरूले नेपाली समाजलाई सदैव प्रेरणा र शक्ति दिइरहनेछन्। साहित्य रचना, रचनाहरूको सङ्कलन, सम्पादन, मुद्रण, पत्र-पत्रिकाहरूको प्रकाशन, बिक्री-वितरण सबै क्षेत्रहरूमा उहाँ सजग र सक्रिय रहनुभयो। उहाँको योगदानलाई मूल्याङ्कन र कदर गर्ने किञ्चित प्रयास निर्माण प्रकाशनको तर्फबाट पनि हामीले गरेका थियौं। ५ सेप्टेम्बर, १९३७ मा कालेबुङमा जन्म ग्रहण गरी दार्जीलिङ, सिक्किम, पूर्वोत्तर भारतका विभिन्न प्रान्तहरूमा संघर्षपूर्ण जीवन यापन गरी ८६ वर्षको उमेरमा ८ सेप्टेम्बर, २०२३ को दिन सिलगढ़ीमा उनले जीवन-यात्रान्त गरे। उनले दिवंगत नरबहादुर दाहालको आत्माले चिर शान्ति अभिलाभ गर्नसकोस् भन्ने प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement