९ सेप्टेम्बरः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-का सचिव जय शाहले आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप २०२३ अघि भारतका महानतम ब्याटर सचिन तेन्दुलकरलाई गोल्डन टिकट प्रदान गरे। वनडे वर्ल्ड कप भारतमा ५ अक्टोबरदेखि शुरु हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा वर्ल्ड कपको उद्घाटन म्याच अनि फाइनल हुनेछ। यस आयोजनमा ४६ दिनमा जम्मा ४८ वटा म्याच खेलिनेछ। बीसीसीआई-ले आफ्नो एक्स (पहिला ट्विटर) ह्याण्डलमा सचिनसँग जय शाहको एउटा तस्वीर शेयर गरेको छ, जसमा उनलाई बीसीसीआईको गोल्डन टिकट फर इण्डिया आइकन्स कार्यक्रमको एउटा भागको रूपमा गोल्डन टिकट दिइयो। पोस्टमा लेखिएको छ, क्रिकेट र राष्ट्रको निम्ति एउटा गौरवमय क्षण। बीसीसीआई सचिव जय शाहले भारत रत्न सचिन तेन्दुलकरलाई गोल्डन टिकट प्रदान गरे। राष्ट्रिय गौरवका प्रतीक सचिन तेन्दुलकरले पीढ़ीहरूलाई प्रेरित गरेका छन्। अब उनी यसको हिस्सा बन्नेछन्।
उल्लेखनीय छ, सचिनले वनडे इण्टरनेशनल क्रिकेटमा ४६३ वटा म्याचमा १८४२६ रन बनाएका छन्। वनडे वर्ल्ड कपमा सर्वाधिक रन बनाउने रेकर्ड पनि उनको नाममा रहेको छ। उनले ६ वटा वर्ल्ड कपमा हिस्सा लिएर ४५ वटा म्याचमा २२७८ रन बनाएका छन्। यी म्याचहरूमा उनले ६ वटा शतक र १५ वटा अर्द्धशतकको साथ ५६.९५-को औसतले रन बनाए। वर्ल्ड कपमा उनको सर्वोच्च स्कोर १५२ रह्यो। सचिनले आईसीसी वर्ल्ड कपमा दुईपल्ट गोल्डन ब्याट पुरस्कार जिते। वर्ल्ड कप १९९६-मा ५२३ रनको साथ उनी गोल्डन ब्याट पाउने पहिलो भारतीय बनेका थिए। टुर्नामेण्टको २००३ संस्करणमा पनि उनले गोल्डन ब्याट जितेका थिए। त्यस समय उनले ११ वटा म्याचमा ६७३ रन बनाएका थिए। बीसीसीआई-को तर्फबाट मंगलवार बलिवुडका महानायक अमिताभ बच्चनलाई पनि गोल्डन टिकट प्रदान गरिएको थियो।