दार्जिलिङ: जोइन्ट फोरमको नेतृत्वहरूमाथि भएको हमलाको क्रामाकपाले पनि घोर भर्त्सना जनाएको छ। क्रामाकपाको केन्द्रीय कमिटीको प्रवक्ता अरूण घतानीले एक विज्ञप्ति जारी गरेर उक्त घटनाको घोर भर्त्सना जनाएका छन्। उनले विज्ञप्ति जारी गरी भनेका छन् -‘चियाबारीका जनतालाई षढ्यन्त्रपूर्वक रुपमा ५ डेसिमल जमीनको पट्टा जीटीए शासक दलले जोर जबरजस्ती बाँड्ने प्रयास गरिरहेको छ। एकातिर पहाडको सत्तासीन दलको नेता डीके प्रधानले चियाबारीका मानिसहरू १००% माइग्रेट गरेकाे हुन् भन्ने वक्तव्य दिएर गोर्खाहरूको अस्तित्वमा प्रश्न उठाउने घृणित कार्य गर्छन् अर्कोतिर आफ्नो बाहुबल र सत्ताबलमा पहाडमा अशान्ति सृजना गर्ने भागोप्रभो नेताहरूले मान्छेलाई आक्रामण गर्ने उस्कानीमूलक भाषण दिन्छन्। यसै अनुरूप आज पुबुङ/नामरिङ- चिया कमानमा मजदूरहरूको जल्दोबल्दो समस्यामाथि भईरहेको सभामा भागोप्रमो नेता-कार्यकर्ताहरूले जोइण्ट फोरम ट्रेड युनियनका नेताहरुमाथि प्राण घातक हमला गरिएको घटनाको घोर भर्त्सना गर्दै नामजद् आरोपीहरूलाई चाँडो पक्राउ गर्नुपर्ने क्रामाकपा माग गर्दछ।’
क्रामाकपाको प्रवक्ता अरूण घतानीले अझ भने, ‘उक्त घटनाहरूले भागोप्रमोप्रति जोइण्ट फोरम भारी परेको अनि यो दल मजदूर विरुद्ध रहेको प्रमाणित भएको छ। जीटीए सत्तासीन दलका नेताले आफूहरू नयाँ सोंच नयाँ विचार लिएर आएको हो। पहाड़मा हामीले गणतन्त्र फर्कायौं भन्छन् तर यी घटनाले उनीहरूको वास्तविक सोंच र उद्देश्य उजागार गरिदिएको छ। बंगाल सरकारले हाम्रो गोर्खा जाति मास्न प्रयोग गरेको यो समूहले एक पछि अर्को षढयन्त्र गरि पहाडलाई ‘बाङ्लार माटी” भन्नेहरुलाई यो भू-भागको अधिपत्य स्थापित गराउने प्रयास गरिरहेछ।’
घतानीले अझ भने, ‘क्रामाकपा राज्य सरकार पोषित यस्ता षढयन्त्र विरुद्ध आम जनता सजग बन्नु पर्ने आह्वान् गर्दछ साथै भागोप्रमोले क्षुद्र राजनैतिक स्वार्थमा यस्ता घृणित कार्य बन्द गर्ने सुझाव दिँदछ।’