खरसाङ: पुमोङ बगानको हमलाकाण्ड राजनैतिक कायरताको चरम हो भनी खरसाङका विधायक बीपी बजगाईंले बताएका छन्। उनले उक्त घटनामाथि एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् – ‘आज नामरिंग चिया बगानको पुबोंग (पुमोङ) डिविजनमा चिया श्रमिक संगठनको जोइन्ट फोरममाथि केही असामाजिक तत्वहरूले प्राणघातक हमला गरेको थाहा लाग्यो। असामाजिक तत्वहरूको नेतृत्वमा सत्तारुढ़ दलको सभासद पनि रहेको कुरा प्राथमिकी (FIR) -मा हुनुले पहाडमा प्रजातान्त्रिक वातावरण खतरामा परेको बोध भएको छ। पुमोङ बगानको हमलाकाण्ड राजनैतिक कायरताको चरम हो।’ विधायक बजगाईंले अघि भने, ‘पाँच डेसिमल जमीनको वास्तविकता श्रमिकले बुझ्न नपाऊन् भनेर नै सरकारको कुत्सित नीतिलाई ढाकछोप गर्न यो हमला भएको हुनसक्ने सम्भावनालाई अब जनताले केलाएर हेर्ने समय आएको छ। पहाडको राजनीतिमा प्रजातान्त्रिक परिपाटीको पुनर्स्थापना, श्रमिकवर्गको हक र हितको सुरक्षा अनि धम्की र गुण्डातन्त्रको अन्त गर्नुको निम्ति पुलिस प्रशासनले झट्टभन्दा झट्ट दोषीहरूलाई पक्राउ गरेर कानुनी कारवाही गरेको हुनुपर्छ।