एसडीएफ पार्टीद्वारा जेकब खालिङको बयानको खण्डन

1000344033.webp

गान्तोकः ‘पूर्व सरकारले शिक्षा व्यवस्था लथालिङ्ग पारेको थियो’ भनी सिक्किमको मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले दिएको बयानको एसडीएफ पार्टीले कड़ारूपमा खण्डन गरेको छ। खालिङले बिहिवार रङ्गेलीमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका थिए। एसडीएफ पार्टीले आज जारी प्रेस विज्ञप्तिमा खालिङको उक्त बयानको खण्डन गर्दै भनेको छ, ‘एसडीएफ सरकारले सत्तामा रहँदा राज्यको शिक्षा क्षेत्रमा अनेकन विकासहरू भएका थिए। विभिन्न शैक्षिक कार्यक्रम तथा नीतिको माध्यमबाट राज्यको शिक्षा क्षेत्रको सुधार र चौतर्फी विकासमा उल्लेखनीय कार्य गरेको हो। तर वर्तमान सरकारले सार्वजनिक क्षेत्रमा एउटा पनि शैक्षिक संस्थान स्थापित गर्न सकेको छैन भने शिक्षालाई निजी हातहरूमा हस्तानन्तरण गर्दै शिक्षाको बजारीकरण गर्ने दिशामा कार्य गरिरहेको राज्यका जनताको आँखामा छर्लङ्ग छ।’

एसडीएफले अझ भनेको छ, ‘खालिङले पूर्व सरकारको समयमा मेधावी विद्यार्थीहरूका निम्ति देशका विभिन्न उच्चकोटीका शैक्षिक संस्थानहरूमा शिक्षा उपार्जनका निम्ति छात्रवृत्ति दिएर पठाउने जुन महत्त्वपूर्ण कदम उठाएको थियो त्यसलाई लथालिङ्ग भन्न चाहेका हुन् कि वा त अहिले आएर प्रत्येक स्कूलका राम्रा र असल शिक्षकलाई डेपुटेशनमा अर्को विभागमा सरुवा गरी ग्रामीण विद्यार्थीहरूको शिक्षा, भाग्य र भविष्यमा वर्तमान सरकारले हानेको बञ्चरो नदेखेका हुन्? यसरी एक जिम्मेवार पदमा रहेका व्यक्तिले यस्तो गैर जिम्मेवार बयान दिनु भनेको व्यवस्था स्वयं लथालिङ भएको स्पष्ट हुन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘पवन चामलिङको सरकारमा अनेकन कलेजहरू खोलिए, सक्षम विश्वविद्यालहरू सिक्किममा आए भने जुन विश्वविद्यालयहरूको कार्यशैली ठीक हुँदैन उनीहरूलाई सिक्किमबाट जान पनि बाध्य गराइयो। सिक्किमका प्रत्येक वर्गीय नानीले उच्च शिक्षा आर्जन गर्न सकोस् भनी दुईवटा सरकारी विश्वविद्यालयको स्थापना गर्ने सरकार पवन चामलिङको सरकार हो।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement