गान्तोकः मेगशाला ट्रस्ट र एचसीएल फाउण्डेसनको संयुक्त पहलमा आज पाकिमस्थित डिकलिङ उच्चत्तर माध्यमिक विद्यालयमा शिक्षकहरूलाई लिएर प्रशिक्षण साथै ट्याबलेट वितरण कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा विभागका सीईओ एडी छेत्रीले राज्यका क्षेत्रीय भाषाहरूको संरक्षणमा अभिनव दृष्टिकोण राखेकोमा आयोजक समितिप्रति कृतज्ञता व्यक्त गर्दै डिजिटलाइजेसनको युगमा कक्षा-कोठामा यस्ता अनुप्रयोग लागू गर्नाले शिक्षाको क्षेत्रमा सुधार आउने बताए। उनले सबैलाई इमानदारीपूर्वक काम गर्न र विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसरको सदुपयोग गर्न र उनीहरूको शिक्षण अभ्यासमा हेड, हार्ट र ह्यान्ड दृष्टिकोण लागू गर्ने आग्रह गरे। यस प्रकारको पद्दतिले शिक्षक साथै विद्यार्थीहरूलाई केही सिक्नको निम्ति व्यस्त बनाउने उनले जानकारी गराए।

यसै क्रममा भाषा तथा पाठ्यपुस्तक निर्देशक सोनाम लेप्चाले सांस्कृतिक र ऐतिहासिक सिकाइको माध्यमबाट समुदायलाई एकताबद्ध गर्न भाषाको महत्त्वपूर्ण भूमिका हुने भएकाले यसको महत्त्वमाथि जोड दिए। उनले शिक्षकहरूलाई प्रभावकारी वातावरण सिर्जना उपलब्ध गराउन विभिन्न प्रविधिहरू प्रयोग गर्न प्रोत्साहित गरे। उनले मातृभाषाको प्रयोग र प्रवर्द्धनमा कुनै कसर बाँकी नराख्ने भाषिक शिक्षकहरूलाई सुझाव दिए। यसरी नै कार्यान्वयन प्रबन्धक सिम्रिन ताम्हणेले स्थानीय लोककथा, परम्परा र चाड-पर्वहरू समावेश गरी ४० मिनेटको पाठ समावेश गर्ने एपको मुख्य विशेषताहरूबारे विस्तृतरूपमा जानकारी गराइन्। यस कार्यक्रममा पाकिम जिल्लाका ११५ विद्यालयका शिक्षकहरूलाई ट्याब्लेट वितरण गरिएको साथै नेभिगेसन र एप्लिकेसन जडान गर्ने तालिम पनि प्रदान गरियो।