सुकना: भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधन भएको छ। उनको निधन आज साँझ ८६ वर्षको उमेरमा भएको छ। उनी विगत केही समयदेखि बिमारी अवस्थामा थिए। वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधन विषयमा उनकै सुपुत्र युवराज दाहालले सामाजिक सञ्जालमार्फत् आधिकारिक रूपमा निधनको जानकारी गराइएको छ। वरिष्ठ साहित्यकार नरहादुर दाहालको निधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो फेसबुक पेजमार्फत् श्रध्दाञ्जली अर्पण गरेका छन्। पिता स्व जीतबहादुर दाहाल र माता स्व मनमाया दाहालको कोखबाट ५ सेप्टेम्बर सन् १९३७ सालमा कालेबुङमा जन्मेका नरबहादुर दाहालको पहिलो रचना सन् १९५० मा कलकत्ताबाट प्रकाशित लैनसिंह वाङ्देलको सम्पादनमा निस्कने ‘प्रभात’ मा गद्य कविता स्मरण प्रकाशित भएको थियो। उनको मौलिक कृतिहरूमा उन्माद ( कविता कृति) – १९५८, वरपीपल (कथा संग्रह)- १९६०, मध्यरातको तारा ( उपन्यास) – १९६४, तिम्रो प्रीत मेरो गीत ( कविता संग्रह ) – १९७०, नरेन्द्रप्रसाद कुमाई ( जीवनी)- २०००, गंगाप्रसाद प्रधान ( जीवनी )- २०११, गोर्खा नायक डम्बरसिंह गुरुङ ( जीवनी)- २०१५ आदि प्रकाशित छन्। उनले थुप्रै पत्र पत्रिकाहरू प्रकाशित गरेका छन्। उनी नेपाली साहित्यको धरोहर नै थिए। उनमा पुरानो समयको सबै ज्ञानको भण्डार नै थिए भने उनमा गजपको स्मरण शक्ति रहेको थियो। उनको बाल कविता – ‘ईन्द्रेणी’ हरेक जनजिब्रेमा नै थिए। उनले थुप्रै पुरस्कारहरू र सम्मानहरू प्राप्त गरेका थिए। नेपाली साहित्यको धरोहर साहित्यकार नरबहादुर दाहालको विषयमा तीनजनाले शोध कार्य पनि गरिसकेका छन्। उनी बिमारीपूर्व विभिन्न साहित्यिक क्रियाकलापहरू र लेखनमा सक्रिय रहेका थिए।