एसडीएफ पार्टीका उपाध्यक्ष कर्मा वाङ्दी भोटिया एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

4_348

गान्तोकः स्यारी समष्टि अन्तर्गत ताथाङ्चेन निवासी सिक्किम डेमोक्रेटिक पार्टी (एसडीएफ) का उपाध्यक्ष एवं २०१९ को विधानसभा चुनाउमा स्यारी समष्टिबाट एसडीएफ पार्टीको उम्मेदवार रहिसकेका कर्मा वाङ्दी भोटियाले शुक्रवार बिहान राज्यका मुख्यमन्त्री एवं सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) अध्यक्ष पीएस तामाङलाई सरकारी आवास मिन्तोकगाङमा भेट गरेर आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएका छन्। यस अवसरमा भोटियासँग उनकी श्रीमती लगायत स्यारी समष्टिका विधायक एवं मन्त्री कुङ्गा निमा लेप्चा, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ पनि उपस्थित रहेको जानकारी एसकेएम पार्टी प्रचार सचिव रञ्जना प्रधानले प्रेस विज्ञप्तिमा दिएकी छन्।

एसडीएफ पार्टी त्यागेर आधिकारिक रूपमा एसकेएम पार्टीमा सामेल भएपछि कर्मा वाङ्दी भोटियालाई एसकेएम पार्टी अध्यक्ष एवं मुख्यमन्त्री तामाङले हार्दिक स्वागत जनाउँदै राज्यवासीको हितमा सामूहिक रूपमा कार्य गर्न आह्वान गरे। पार्टी अध्यक्षको आह्वानलाई हृदयबाटै स्वागत जनाउँदै भोटियाले समर्पित भएर एसकेएम पार्टीमा कार्य गर्ने कटिबद्धता व्यक्त गरेको बताइएको छ। एसकेएमले भोटियालाई स्वागत जनाउँदै उनको आगमनले एसकेएम पार्टी अझ दह्रिलो बनेर गएको अनि एसडीएफ पार्टीलाई निक्कै ठूलो क्षति पुगेको हामीले महसुस गरेको बताएको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री तामाङको समावेशी नीतिकै फलस्वरूप यसरी विपक्षी पार्टीका वरिष्ठ नेतृत्वहरू प्रभावित बनेर एसकेएम पार्टीमा निरन्तर सामेल हुने कार्य भइरहेको बताएको छ। यसले एसकेएम पार्टीको धरातल दिनदिनै थप दह्रिलो बन्दै गइरहेको एसकेएमले विज्ञपितमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement