पूर्व सरकारले लथालिङ्ग छोडेको शिक्षा व्यवस्थालाई वर्तमान सरकारले सुधारे गऱ्योः जेकब खालिङ
गान्तोकः युथ डेभलपमेन्ट सोसाइटी अफ सिक्किमले आज छुजाचेन समष्टि अन्तर्गत रङ्गेलीको सामुदायिक भवनमा भव्यताका साथ शिक्षक दिवस पालन गऱ्यो। समष्टिको ९ वटा ब्लकका अवकाशप्राप्त शिक्षकहरूलाई सम्मान जनाउने उद्देश्यले आयोजित यो कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा मुख्य अतिथिको बाहुलीबाट क्षेत्रका सम्पूर्ण अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरुलाई सम्मान जनाइयो। यसका साथै क्षेत्रका स्वास्थ्य सेवा पुऱ्याउँदै आएका आशा कर्मचारीहरुलाई मुख्य अतिथि खालिङको बाहुलीबाट सम्मान जनाउने कार्य सम्पन्न भयो।
कार्यक्रमलाई सम्वोधन गर्दै खालिङले संसारमा उज्यालो छर्न योगदान दिने सम्पूर्ण शिक्षक शिक्षिकाहरुप्रति नमन गरे। आज शिक्षकहरूको निःस्वार्थ सेवाको फलस्वरूप अहिले भारत चन्द्रमामा पनि पुग्न सफल बनेको उनले बताए। आज इसरोमा कार्यरत वैज्ञानिकहरूको पछि कुनै न कुनै शिक्षकहरुको हात रहेको बताए। ब्रम्हाण्डमा मानिसको जुनी सम्भव रहेसम्म शिक्षकहरुको योगदान अनि सेवा रहिरहने पनि उनले जनाए। आज सम्मानित शिक्षकहरू जसले आफ्नो समयको विभिन्न आर्थिक चुनौतीहरुको सामना गरेर शिक्षा आर्जन गरी शिक्षाको सेवामा लागे त्यो समय साधारण कुरा नरहेको उनले बताए। कुनै पनि देश अनि राष्ट्र निर्माणमा सुदृढ शिक्षा व्यवस्थाको ठूलो भूमिका रहेको कुरालाई मध्यनजर गरेर सिक्किम राज्यको शिक्षा व्यवस्था सुदृढ गर्ने कार्य गरिरहेको खालिङले किटान गरे।
शिक्षाको लागि राजनीतिको होइन भन्ने कुरालाई अघि राखेर सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शिक्षाको क्षेत्रमा काम गरिरहेको उनले थप जानकारी गराए। पूर्व सरकारले लथालिङ्ग छोडेको राज्यको शिक्षा व्यवस्थालाई सुदृढ गरेर अघि लाने वर्तमान सरकारले कार्य गरिरहेको उनको भनाइ रहेको थियो। लामो समयदेखि आफ्नो हकको निम्ति आवाज उठाइरहेका एड्हक शिक्षकहरुको मागलाई सम्वोधन गर्दै उनीहरूलाई न्याया दिने काम गरेको खालिङले मन्तव्य प्रकट गरे।

यो भन्दा अघि केवल सम्भ्रान्त परिवारकाहरुले मात्र आफ्ना छोरा छोरीहरूलाई डाक्टर बनाउने सपना देख्न सम्भव रहेको थियो तर अहिले मुख्यमन्त्रीको दूरदर्शी सोच अनि कार्यले गर्दा राज्यका गरीब घरानाका नानीहरूको पनि अहिले डाक्टर बन्ने सपना पूरा भएको बताए। यसका साथै स्कूलमा कुनै पनि तनाउ बिना नै शिक्षकहरूले नानीहरूलाई शिक्षा दिउन् भन्ने उद्देश्यले शिक्षाको क्षेत्रमा सरकारले हर सम्भव विकाश गरिरहेको उनले बताए। वर्तमान सरकारले शिक्षाको क्षेत्रमा गरेको विभिन्न विकासका कर्यहरुबारे उनले विस्तृतरूपमा अवगत गराए।










