गान्तोकः आरिथाङ निर्वाचन क्षेत्रका विधायक एवम् एसकेएम पार्टीका सेक्रेटेरी जनरल अरूण उप्रेतीले आज आरिथाङमा अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठको कार्यालयको उद्घाटन गरे। विशेष गरेर अवकाशप्राप्त सरकारी कर्मचारीहरूको स्थायी ठेगाना नभएको र उनीहरूको गुनासो पोख्ने स्थानको अभावलाई ध्यानमा राख्दै आरिथाङमा कार्यालयको उद्घाटन गरिएको उप्रेतीले जानकारी गराए।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सर्वप्रथम उनले अवकाशप्राप्त सरकारी कर्मचारीहरूले कार्यालय पाएकोमा बधाई साथै शुभकामना दिँदै यसको सदुपयोग गर्नुपर्ने आग्रह गरे। अवकाशप्राप्त कर्मचारीहरूले भोग्न परिरहेको समस्यालाई ध्यानमा राख्दै उनीहरूलाई एउटा मञ्च प्रदान गर्ने उद्देश्यले पार्टीले कार्यालय उपलब्ध गराउने निर्णय लिएको थप जानकारी गराए।
उनले जानकारी गराए अनुसार यस कार्यालयमा अवकाशप्राप्त कर्मचारीहरूले आफ्नो समस्या साथै गुनासो राखेर आफ्नो समस्या समाधान गर्न सकिने मन्तव्य प्रकट गरे। अवकाशप्राप्त कर्मचारीहरूले आफ्नो धेरै वर्षको अनुभव साथै सुझाउ राखेर पार्टी साथै सरकारलाई मजबुत बनाउनु पर्ने आग्रह गरे। सरकार र पार्टीले गरेको भूलहरूलाई सुधार्नको निम्ति अवकाशप्राप्त कर्मचारीहरूले अह्म भूमिका निर्वाह गर्नुपर्ने उनले आग्रह गरे।

यस स्थानमा कुनै पनि प्रकारको कार्यक्रम आयोजना गर्नमा समस्या आइपरेको खण्डमा आफूलाई सोझै सम्पर्क गर्न सकिने पनि विश्वास दिलाए। सबै मिलेर मुख्यमन्त्रीको हात मजबुत बनाउनु पर्ने र सिक्किमलाई राम्रो बनाउनु पर्ने उनले सुझाउ दिए। यस अवसरमा अवकाश्प्राप्त सरकारी कर्मचारी प्रकोष्ठका उपाध्यक्ष कादो भोटियाले पनि सम्बोधन गरेका थिए।










