एसटीएनएमको ऐतिहासिकतालाई जोगाएर वेलनेश पार्क निर्माण गर्नेछौः मुख्यमन्त्री

psg._284

गान्तोकः गान्तोकको पुरानो एसटीएनएम अस्पताल परिसरमा निर्माण गर्ने वेलनेश पार्क सर थुडुप नामग्यालको नाममा समर्पित गरिने मुख्यमन्त्री पीएस तामाङले बताएका छन्। आज पुरानो एसटीएनएम अस्पताल परिसरमा वेलनेश पार्कको शिलान्यास गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पार्कको निर्माण कार्य आगामी विधानसभा चुनाउ अघि नै पूरा गरेर उद्घाटन गरिने पनि मुख्यमन्त्रीले बताए। १४.४ करोड रुपियाँको लागतमा निर्माण गरिने यस पार्कको प्रस्तावित ढाँचा र धनराशि निर्माण कार्य अघि बढ्दै जाँदा परिवर्तन हुनसक्ने उनले सम्भावना व्यक्त गरेका छन्। नागरिकहरूको सुझाउ र गान्तोकवासीको सुविधालाई ध्यान राखेर नै सरकारले वेलनेश पार्क निर्माणको प्रस्ताव अघि राखेको भएपनि शिलान्यास समारोहमा गान्तोकवासीको कम सहभागितालाई लिएर भने मुख्यमन्त्रीले असन्तुष्टि व्यक्त गरे।

सिक्किमेली समाजमा व्यक्तिगत फाइदा पाउँदा मात्र खुसी हुने प्रवृत्ति विकास भएर गएको अनि सामुहिक हितका कार्यमा नागरिक सहभागिता घटेर गएको उल्लेख गर्दै मुख्यमन्त्रीले सामाजिक उपलब्धिलाई महत्त्व दिनुपर्ने आह्वान गरे। वेलनेश पार्क र पुरानो एसटीएनएम अस्पतालमा सरकारले शुरु गरेको शहरी प्राथमिक स्वास्थ्य केन्द्र दुवैले विशेष गरेर वृद्धजनको स्वास्थ्यलाई महत्त्वमा राखेर काम गर्ने उनले बताए। उनले एसटीएनएम अस्पतालको पुरानो भवन ऐतिहासिक धरोहर रहेका कारण सरकारले यसलाई रेट्रो फिटिङ गरेर बलियो राख्ने काम गरेको र वेलनेश पार्कको निर्माणपछि यहाँ फिजियोथेरापिस्ट र डाक्टरहरू राख्नसँगै औषधि केन्द्र पनि शुरु गर्ने मुख्यमन्त्रीले बताएका छन्। यस पार्कले वृद्धजनसँगै मोबाइलले प्रभावित बनाएका नानीहरूलाई शहरभित्रको मनोरञ्जनमा थप साधनको काम गर्ने र युवाहरूका निम्ति रिक्रिएशन सेन्टरको काम पनि गर्ने सरकारले सोच राखेको बताए। गान्तोक शहरको फैलावटको सीमितता र जमिनको अभावलाई ध्यानमा राखेर एसकेएम सरकारले चाहेर पनि ठूला पूर्वाधार विकास गर्न नसकिरहेको उल्लेख गर्दै अघिबाटै बनिएका पूर्वाधारलाई संरक्षण र विकास गराउन सरकारले ध्यान दिएको बताए।

पूर्वाधारलाई संरक्षण गर्नेक्रममा सरकारले गान्तोक वरिपरीका सबै सड़कलाई ७० एमएमको कार्पेटिङ गराएको, लामो समयदेखि थाँतीमा रहेको ठाकुरबाडीको निर्माण कार्य पूरा गराउनसँगै नयाँ मुर्ति स्थापना गरेको, एमजी मार्गको ढल निकास प्राणालीलाई गतिशील बनाउने काम भइरहेको, फ्लाइओभर, सीसी फुटपाथ र कार पार्किङको निर्माण कार्य पनि तीब्र गतिमा भइरहेको बताए। पुरानो वेस्ट पोइन्ट स्थलमा निर्माणाधिन सपिङ कम्प्लेक्सको कार पार्किङ ३१ दिसम्बरमा उद्घाटन गरिने मुख्यमन्त्रीले जानकारी दिए भने यसै मलभित्र एउटा रिक्रिएसन सेन्टर पनि बनिने उनले बताएका छन्।

यस बाहेक एमएलए होस्टल नजिकमा सरकारले ११८ करोड रुपियाँको लागतमा युनिट मल बनाउने, गान्तोकमा ४५० करोड रुपियाँको लागतमा कन्भनेसन सेन्टर निर्माण गर्ने र आत्मनिर्भर रिसर्च सेन्टर पनि निर्माण गर्ने पहल भइरहेको मुख्यमन्त्रीले बताएका छन्। गान्तोकको बिजुली व्यस्थालाई ठीक गर्न ९८ करोड रुपियाँको लागतमा काम भइरहेको उनले आज जानकारी दिए। सिक्किमको सम्पत्ति र जग्गा-जमिन सरकारले बेच्यो भन्ने विपक्षी पार्टीले लगाएका आरोपलाई मुख्यमन्त्रीले निराधार बताएका छन्। सरकारले जमिन बेचेको आरोप प्रमाणित गर्न विपक्षी दलहरूलाई चुनौती दिंदै मुख्यमन्त्रीले पुरानो वेस्ट पोइन्ट र एसटीएनएन अस्पताल परिसरको परियोजना लागू र टेण्डर एसडीएफ सरकारको समय भएको दाबी गरे। पूर्व सरकारले बेचेका परियोजनालाई एसकेएम सरकारले समीक्षा गरेर पीपीपी मोडमा लागू गरेको र टिस्टा उर्जामा एसडीएफ सरकारले बोकेको लाइबलिटीलाई पनि एसकेएम सरकारले घटाउने काम गरेको बताए।

उनले २५ वर्षे एसडीएफ सरकारको तुलनामा एसकेएमले धेरै क्षेत्रमा राम्रो काम गरेको बताएका छन्। सरकार सी र डी ग्रेडका कर्मचारीको पक्षमा छ भन्दै उनीहरूको प्रमोसन गराउने काम तीब्र गतिमा भइरहेको मुख्यमन्त्रीले जानकारी दिए। १९९८ यताका ५८२ पुलिस हवल्दारलाई सरकारले एएसआईमा पदोन्नती दिएको बताए। पुलिसमा कन्सटेबलको पदमा भर्ती गर्न ८७५ पद सिर्जना गरेको र यसमध्ये ५० प्रतिशत महिलाका लागि आरक्षित राखिएको मुख्यमन्त्रीले जानकारी दिएका छन्। यस अवसरमा मुख्यमन्त्रीले सिक्किमे समाजमा कार्य संस्कृतिको विकास हुनुपर्ने आह्वान गरे भने सिक्किम निर्माणमा टीम सिक्किमको अवधारणालाई साथ दिन आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement