गान्तोकः राजधानीस्थित लाल बजारमा एसकेएम पार्टी कार्यालयमा २६ आरिथाङ अन्तर्गत लाल बजार र नामनाङ वार्डका पार्टी कार्यकर्ताहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। केजे पाल्जरको अध्यक्षतामा बसेको सभामा सिक्किम विधान सभाका अध्यक्ष एवम् पार्टीका सेक्रेटेरी जनरल अरूण उप्रेती मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि उप्रेतीले लाल बजारमा विशेष गरेर राति-राति हिँडनेहरूसँग सतर्क रहनु पर्ने सुझाउ दिए। सत्यको बाटोमा हिँडने मानिसहरू जहिले पनि दिउँसो हिँडने गरेको बताउँदै राति हिँडनेहरूले केवल सोझा मानिसहरूलाई दिग्भ्रमित तुल्याउने प्रयत्न गरिरहेको बताए। यसर्थ यस प्रकारको मानिसहरूसँग स्थानीयवासीहरू सावधान रहनुपर्ने आग्रह गरे।
लाल बजारको प्रायःजसो समस्या आफूले समाधान गरिसकेको बताउँदै यदि कुनै पनि समस्या थाँतीमा रहेको छ भने त्यसको पनि शीघ्र समाधान हुने वचन दिए। एमजी मार्गदेखि लाल बजारसम्म पर्यटकहरू ल्याउनको निम्ति सरकारको तर्फबाट सुन्दरीकरणको कार्य भइरहेको छ भने यसलाई अझ आकर्षक र सुन्दर बनाउन स्थानीय व्यापारीको हातमा रहेको बताए। यदि बजारको सर सफाईमा ध्यान दिएको खण्डमा अवश्य पनि यस बजारमा पर्यटक साथै स्थानीयहरूको आगमनमा कुनै प्रकारको कमी नआउने उनले सुझाउ दिएका छन्।
व्यापारीहरूले दोकानभित्र मात्र स्वच्छताको ध्यान नराखेर बाहिर पनि सर सफाई प्रति ध्यान दिनुपर्ने उप्रेतीले सुझाउ दिएका छन्। यस बजारलाई राम्रो बनाउनको निम्ति आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने उनले वचन दिए। हाल राजधानी वरिपरि मलहरू धेरै रहेको र कतिपय मलहरू निर्माणाधीन अवस्थामा रहेता पनि यदि यहाँका व्यापारीहरूले सर सफाईप्रति ध्यान दिएमा स्थानीयहरूले यही बजार गर्न आउन पनि उनले जानकारी गराए।
सरकार सदैव लाल बजारका व्यापारीहरूको पक्षमा रहेको अवगत गराउँदै व्यापारीहरूले पनि आफ्नो जिम्मेवारीलाई निर्वाह गर्नुपर्ने सुझाउ दिए। विशेष गरेर यस बजारमा धेरै वर्षदेखि एलटमेन्ट नपाएकाहरूलाई पनि वर्तमान सरकारले एलटमेन्ट अर्डर दिएर समस्या समाधान गरिदिएको बताए। कुनै व्यापारीहरूबाट पनि एक पैसा आफूले नलिएको र सेवाको भावना राखेर पार्टी र जाति नहेरी काम गरिदिएको पनि उनले किटान गरे। तर कतिपय व्यक्तिले यस विषयलाई लिएर राजनीति गरिरहेको पनि उप्रेतीले दावी गरे।
पूर्व सरकारले धेरै वर्षसम्म यहाँका व्यापारीहरूलाई केवल चुनाउको समयमा मात्र प्रयोग गरेको तर चुनाउपछि भने उनीहरूको माग थाँतीमा नै रहेको बताए। तर वर्तमान सरकारको जनताको काम गर्दा कहिले पनि चुनाउ नपर्खिएको र समयमा नै सबै कामहरू गरिदिएको किटान गरे।