७ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा टिस्टा युनाइटेडले गोर्खा फूटबल एकाडमी, सिलगढ़ीलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा टिस्टा युनाइटेडबाट अनिकेत चामलिंग र गोर्खा फूटबल एकाडमीबाट धीरज छेत्रीले गोल गरे। यसरी दिनको दोस्रो म्याचमा २९ माईलले सोरेंग फूटबल क्लबलाई ६-२-ले पराजित गऱ्यो। विजेता टीमबाट सुरज कामतीले ह्याट्रिकसहित ४ गोल गरे। यसबाहेक विजय रिजाल र नसिम अन्सारीले १-१ गोल गरे। यसरी सोरेंग एफसी-बाट प्रवीण तामाङले २ गोल गरे।

टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन एफसी च्याम्पियन भएको थियो।