गान्तोकः गान्तोकको पुरानो एसटीएनएम अस्पताल परिसरमा रहेको दुई ऐकर जमिनलाई नगर निगमले वेलनेश पार्कको रुपमा विकसित गर्ने पहल अघि बढाएको छ। १४.४ करोड रुपियाँको प्रस्तावित लागतमा निर्माण गरिने वेलनेश पार्कको आज बुधवार बिहान मुख्यमन्त्री पीएस तामाङले शिलान्यास गरे। यो वेलनेश पार्कले गान्तोक तथा यस वरिपरिका वृद्धजन र बालक बालिकालाई फाइदा पुग्ने लक्ष्य राखिएको छ।
पार्कको निर्माण कार्यको जिम्मेवारी लिएको गान्तोक नगर निगमले मानिसहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यस पार्कमा पूर्वाधार विकास गर्ने बताएको छ। पार्क निर्माणका लागि नागरिकहरुको सुझाउलाई विशेष ध्यानमा राखेर डिजाइन तयार पारेको नगर निगमले जानकारी दिएको छ। डिजाइन अनुसार यस पार्कमा जगिङका लागि ३२० मिटर लम्बाईको रबर ट्रेक र नानीहरूलाई खेल्ने सुविधासहितको खुल्ला क्षेत्र पार्कमा रहनेछ।
यसैभित्र निर्माण हुने ७८०० वर्ग मिटरको भवनमा वरिष्ठ नागरिक क्लब हुनेछ जसमा इन्डोर खेल, पुस्तकालय र अन्य सुविधा रहनेछन्। यसबाहेक नानीहरूलाई राख्नका लागी डे केयर फेसिलिटी, फुडकोर्ट, ओपन एयर थिएटर आदी समावेश हुने बताइएको छ।
पार्क शिलान्यास अवसरमा सिक्किम सरकारको शिक्षा विभागका मन्त्री कुङ्गा निमा लेप्चा, ग्राम विकास विभागका मन्त्री सोनाम लामा, सडक एंव पुल विभागका मन्त्री सामडुप लेप्चा, विधायकगण, गान्तोक नगर निगमका मेयर, उपमेयर, पार्षदगण, मुख्य सचिव तथा विभिन्न सरकारी विभागका कर्मचारी र गान्तोकका नागरिकहरुको उपस्थिति रहेको थियो।










