खरसाङ: गोर्खाहरुको महान चाढ दशैं आउन अब केही दिन मात्रै बाँकी छ। यही कुरालाई ध्यानमा राखेर चियाबारीमा काम गर्ने श्रमिकहरूलाई बोनस उपलब्ध गराउन दार्जिलिङ पहाडी क्षेत्रका सबै राजनीतिक दलका नेताहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ भनी सामी लाखाङ गुम्बा खरसाङका धर्मगुरु पेम्बा रिम्पोर्छेले आज बताएका छन्। उनले दार्जिलिङ चिया संघको आयोजनामा सेप्टेम्बर १५-२०२३ मा बोनसका लागि बैठक बोलाएको बताए। यो राम्रो कुरा हो तर बैठकमा चियाबारीमा काम गर्ने
श्रमिकहरूलाई २० प्रतिशतका दरले बोनस एकै किस्तामा दिने सहमति हुनु आवश्यक छ भनी बताएका छन्। उनले गत वर्ष २०२२ मा चियाबारीमा काम गर्ने श्रमिकहरूलाई बोनसका लागि निकै समस्या भोग्नुपरेको बताए। यस पटक त्यस्तो अवस्था आउनु हुँदैन। धर्मगुरु भएकाले गत वर्ष जस्तै यसपटक पनि जनतालाई बोनसको समस्या नपरोस्
भन्ने चाहान्छु। सबै श्रमिक र मजदुरले एक किस्तामा बोनस पाउनुपर्छ। उनले दार्जिलिङ पहाडी क्षेत्रका सबै राजनीतिक दलका नेताहरुलाई नकरात्मक सोच र विचार त्यागेर सकारात्मक सोच निर्माण गरी मजदुर र मजदुरको पक्षमा काम गर्न आह्वान गरेका छन्। बोनसका लागि वर्षैपिच्छे पटक–पटक बैठक बस्ने गरेको देखिए पनि अन्ततः त्यसमा कुनै न कुनै अवरोध हुने गरेको उनले बताए।
अन्त्यमा धर्मगुरु पेम्बा रिम्पोर्छेले दार्जिलिङ पहाडमा भइरहेको नकरात्मक राजनीति छाडेर सकारात्मक सोच र विचारको राजनीति गर्न र दार्जिलिङ पहाडको वातावरणलाई शान्त बनाउन सम्पूर्ण दलका नेताहरुलाई आह्वान् गर्नुभएको छ।