शिक्षक भर्ती पोलिसी लागु हुनसाथ भोलेन्टियर्सरूलाई नोकरी दिलाउने नै हाम्रो प्रथम प्राथमिकता रहेको छ: अनित थापा

IMG-20230907-WA0303.jpg

खरसाङ: खरसाङदेखि १० किलो मिटर दूरीमा अवस्थित सन्त जेभियर्स उच्चतर माध्यमिक विद्यालय दिलारामले आफ्नो ६० औं स्थापना दिवस भव्यताका साथ पालन गर्यो। यसै अवसरमा जीटीए प्रमुख कार्यपाल अनित थापाले विद्यालय परिसरमा नव निर्मित विद्यालय भवनको उदघाटन पनि गरे। विद्यालय १९६४ सालमा स्थापित भएको थियो। अनित थापाले विद्यालयको स्थापना दिवसको अवसरमा विद्यालय परिवारलाई बधाई दिएका छन्। यस अवसरमा भोलेन्टियर शिक्षक शिक्षिकाहरूको समस्यामाथि बोल्दै उनले भने, “जीटीएमा धेरै सिस्टमहरूमाथि काम भईरहेको छ। शिक्षामा पनि परिवर्तन ल्याउने प्रयास हुँदैछ। यस विद्यालयमा पनि भोलेन्टियर शिक्षक शिक्षिकाहरू छन् होला। उहाँहरूले आफ्नो लड़ाई लडिरहनु भएको छ। हामी पनि चिन्तित छौं। हामी पनि उहाँहरुको निम्ति काम गरिरहेका छौं। म चाहन्छु कि सबै भोलेन्टियर शिक्षक शिक्षिकाहरूको स्थायीकरण होस। शिक्षक भर्ती पोलिसी लागु हुनसाथ उहाँहरूलाई नोकरी दिलाउने नै हाम्रो प्रथम प्राथमिकता रहेको छ। यस विषयमा मैले राज्य सरकारसँग पत्राचार पनि गरिसकेको छु। मैले नियमभित्र बाँधिएर नै काम गर्नुपर्छ। हाम्रो गल्ती होइन। यहाँ भर्ती गर्ने सिस्टम ठीक नभएर यस्तो स्थिति सृजना भएको हो।”
नव निर्मित विद्यालय भवनमा पानीको प्रबन्ध अझ नभएको गुनासो एक शिक्षकले भाषणमा उठाए। थापाले आफ्नो सम्बोधनमा त्यही गुनासोलाई टिपेर भने, “पानीको योजना पारित भएको छ भने विद्यार्थीले पानी पाएको हुनु पर्छ।”
उनले थप भने, “यदि कुनै गुनासो राख्नु हो भने भाषणमा गुनासो पोखेर हुँदैन। गुनासोमाथि काम भएको चाहानुहुन्छ भने लिखित रूपमा गुनासो सम्बन्धित विभाग अनि अधिकारी समक्ष पुर्याउनु पर्छ। तब गुनासोमाथि कार्य गरिन्छ। मौखिक गुनासोमाथि मौखिक कार्य नै हुनेछ। लिखित गुनासोको सुनवाई हुन्छ। हामीलाई यस्तो फ्रेममा आउनु समय लाग्छ। परिवर्तन सुस्त गतिमा आउँछ। आत्तिनु हुँदैन। अत्तालियौ भने हामी आफै असफल बन्नेछौं। हामीले आज रोपेको सुविचार कतै आउँदो पिडिको मस्तिष्कमा उम्रन्छ कि भन्ने हाम्राे सोच छ। हामीले आज रोपेको फल आउँदो पिडिले खानु सकोस्।”

कार्यक्रमलाई एस पुनमबालमले पनि सम्बोधन गरेका थिए। विद्यार्थीहरुले रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा जीटीए मुख्य सचिव एस पुनमबालम, डेपुटी चेयरम्यान राजेश चौहान, सभासद नुरी शेर्पा, अनोस थापा अनि खरसाङ पञ्चायत समितिका सभापति अनु छेत्रीको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement