कालचिनीः वर्तमान युगमा केवल सरकारी नौकरी गरेर मात्र परिवारको भरन पोषण गर्न सक्ने कुराको कल्पना गर्न सकिन्दैन।बेरोज़गारीबाट मुक्त हुन आफै रोजगारको बाटो खन्न वर्तमान समयमा सबैले केही न केही स्वरोजगारको उपाय चलाईरहेको बेला सेलून र हेयर कटिङ एवम् श्रृंगारको काम धन्धा एउटा असल उद्योग साबित हुन थालेको देखिन्छ। यस्तै हेयर कटिङ तथा सेलूनको उद्योग एकाडेमी चलाएर रबिन दर्जीले हाँसीमारामा केटा-केटीहरूलाई स्वरोजगार बन्न अभिप्रेरित गर्नको साथै तिनले बेला बेलामा आफ्नो एकाडेमीका टीमलाई लिएर गाउँ घरमा निःशुल्क हेयर कटिङको परिसेवा पनि प्रदान गर्दै आईरहेको छ।
बिहीबार यसै क्रममा रबिन दर्जीले आफ्नो एकाडेमी ट्याक्सचर एन्ड क्रप एकाडेमीका टीमलाई लिएर कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा ८ नम्बर गाउँमा पुगेर त्यहाँका प्रायः ७० भन्दा अधिक केटा केटी एवम् महिलाहरूलाई निःशुल्क हेयर कटिङ साथै थ्रेडिङ परिसेवा प्रदान गरे।
गाउँका प्रायः ७० जना केटा केटीहरू एवम् महिलाहरूले यसरी ट्याक्सचर एन्ड क्रप एकाडेमीका टीमबाट निःशुल्क रुपमा चल्ति स्टाइलमा कपाल काट्न पाउँदा खुसी व्यक्त गरेका छन्। सेलूनमा जाँदा न्यूनतम ३०० रुपियाँ बेहोरेर कपाल काट्न पर्ने तर यसरी गाउँमा निःशुल्क त्यही परिसेवा पाउँदा गाउँलेहरूले आनन्द अनुभूति गरेको देखियो। सो सम्बन्धमा ट्याक्सचर एन्ड क्रप एकाडेमीका प्रमुख रबिन दर्जीले एकाडेमीले केवल कोर्स मात्र नगराएर टीमका प्रशिक्षणार्थीहरूलाई लिए गाउँ घरमा निःशुल्क सेवा पनि गरिरहेको र सेलून वर्तमान समयको राम्रो रोजगारीको माध्यम पनि रहेको कुरा जनाउनलाई नै यो परिसेवा एकाडेमीले प्रदान गर्दै आईरहेको जनाएका छन्। टीमका सहप्रमुख विशाल खरेलले कोरोनाकाल र लकडाउनले अर्थव्यवस्था नै चरमराएको अनि युवाहरू बेरोजगार बनिरहेको यस घड़ीमा सेलून अर्थात पार्लर रोजगारको राम्रो माध्यम बनेको र युवाहरूले यसलाई समातेर आफ्नो खुट्टामा उभिन मदत पुग्ने आस्था अनि भरोसा रहेकोले नै यसको सचेतना गर्नलाई पनि यो निःशुल्क हेयर कटिङ परिसेवा प्रदान गरिएको जनाएका छन्।