११ जुलाईः सर्बियाका दिग्गज टेनिस खेलाड़ी नोवाक जोकोविचले विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको खिताब जिते। सालको तेस्रो ग्राण्ड स्ल्यामको फाइनलमा शीर्ष वरीयता प्राप्त जोकोविचले अष्ट्रेलियाका निक किर्गियोसलाई ४-६, ६-३, ६-४, ७-६-ले पराजित गरे। फाइनलको पहिलो सेटमा किर्गियोसले असाधारण सर्विस गर्दै जोकोविचलाई चेपारोमा पारे तर अष्ट्रेलियाई खेलाड़ीलाई त्यस लयलाई कायम राख्न सकेनन्।

त्यसपछि जोकोविचले दोस्रो अनि तेस्रो सेट सजिलै जिते। चौथो सेट चरम रोमाञ्चक रह्यो, जसमा किर्गियोसले विश्वका पूर्व नम्बर एक खेलाड़ीलाई कड़ा चुनौती दिए तर टाईब्रेकरमा चौथो सेटसहित म्याच जितेर जोकोविचले ट्रफी हासिल गरे।
यो जोकोविचको सातौं विम्बल्डन अनि समग्रमा २१औं ग्राण्ड स्ल्याम खिताब हो। यसरी उनले सर्वाधिक ग्राण्ड स्ल्याम खिताब जित्ने खेलाड़ीहरूका सूचीमा स्विट्जरल्याण्डका रोजर फेडररलाई पछि छोड़े।

फेडररले अहिलेसम्म २० वटा ग्राण्ड स्ल्याम खिताब जितेका छन्। सर्वाधिक २२ वटा ग्राण्ड स्ल्याम खिताब जित्ने रेकर्ड स्पेनिश दिग्गज रफायल नडालको नाममा रहेको छ। यस सालको शुरुवातमा यी तीनैजनासँग २०-२० वटा खिताब थियो। नडालले यस सालको पहिलो दुईवटा ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन र फ्रेञ्च ओपन जिते। विम्बल्डनमा पनि उनी सेमिफाइनलसम्म पुगेका थिए तर चोटले गर्दा उनी प्रतियोगिताबाट हट्न वाध्य भए।

यसबीच सर्वाधिकपल्ट विम्बल्डनको खिताब जित्ने रेकर्ड चाहिँ फेडररकै नाममा रहेको छ। उनले अहिलेसम्म आठपल्ट विम्बल्डनको खिताब जितेका छन्। अष्ट्रेलियाका किर्गियोस आफ्नो पहिलो ग्राण्ड स्ल्याम फाइनल खेलिरहेका थिए। चोटले गर्दा नडालले नाम फिर्ता लिँदा सेमिफाइनलमा उनलाई वक्ओभर प्राप्त भएको थियो। विश्व ऱ्याङकिंगमा ४०औं स्थानमा रहने किर्गियोस २००१-मा गोरान इवानिसेविचपछि पहिलो गैर वरीयता च्याम्पियन खेलाड़ी बन्ने प्रयासमा थिए तर जोकोविचको अनुभव अघि उनको कुनै शीप चलेन।

चाखलाग्दो कुरा के छ भने इवानिसेविच अहिले जोकोविचका प्रशिक्षक हुन् अनि उनी यस म्याचको अवधि सेण्टर कोर्टमा अतिथिको रूपमा उपस्थित थिए। जोकोविचले विम्बल्डनमा गत पाँच सालदेखि एउटा म्याच पनि हारेका छैनन्। उनले २०१८-देखि विम्बल्डनमा लगातार २८ वटा म्याच जितेका छन्।