सोरेङ: सिक्किमका पूर्व मुख्य सचिव एवं चर्चित व्यक्तित्व पीके प्रधानले सर्वोच्च न्यायालयको फैसलामा सिक्किमे नेपालीहरूलाई ‘विदेशी’को संज्ञा दिइएको विषयमा आफ्नो असन्तुष्टि जाहेर गरेका छन्। सोरेङमा आज आयोजित एउटा कार्यक्रममा उनले वर्तमान सरकारप्रति पनि आफ्नो असन्तुष्टि दर्शाए। सिक्किमको माटोको सुरक्षा गर्न भोट दिएको सरकारले माटोको सुरक्षा गर्न नसकेको उनको भनाईको आशय थियो। पश्चिम सिक्किमको सोरेङ जिल्लामा आयोजित एक कार्यक्रममा मुख्य अतिथिको आसनबाट बोल्दै उनले भने, ‘सिक्किममा १९४६ भन्दा अघिदेखि बस्दै आएका व्यापारीहरूले आयकर छूट पाउन सक्छन् तर हिजो आउने व्यापारीहरूले नेपालीहरूलाई घचेट्न खोजे कदापि स्वीकार्य गरिने छैनl’

यहाँ अवस्थित ठाकुरबाड़ी सेवा सदनको आज एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको छ। कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित सिक्किम सरकारका पूर्व मुख्य सचिव पीके प्रधान अनि श्रीमती नलिनी जी प्रधानका बाहुलीबाट नवनिर्मित भवनको उद्घाटन गरियो। जनकल्याणको भावनाबाट निर्माण गरिएको भवनमा सिक्किम सरकारले १० लाख अनि मुख्यमन्त्री पीएस गोलेले व्यक्तिगत रूपमा दुई लाख रुपियाँ सहयोग गरेका थिए भने यसमा थप अरू आर्थिक मद्द्त गर्ने उनले आश्वासन दिएका थिए तर भवन सम्पूर्ण रूपमा निर्माण भइसक्दा पनि मुख्यमन्त्री एकपल्टसम्म पनि हेर्न नआएकोमा प्रधानले गुनासो पोखे। आफ्नै जिल्लाका मुख्यमन्त्री भएर पनि जिल्लामा जनकल्याणको भावनामा निर्माण भएको भवनको खोज-खबर नराख्नु अनि उद्घाटन कार्यक्रममा क्षेत्र विधायकले उपस्थितिको वाचा गरे पनि अन्तिम क्षणमा उपस्थिति नदिएकोमा पनि प्रधानले सरकारप्रति कटाक्ष गरे। यस अवधि भवन निर्माणको महत्त्वपूर्ण भूमिका निर्वाह गरे वापत पीके प्रधान अनि श्रीमती प्रधानलाई भवन निर्माण समितिको पक्षबाट अभिनन्दन पनि जनाइएको थियो।
रोहित शर्माद्वारा सञ्चालित नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा स्वागत सम्बोधन रमेश लखोटियाले राखेका थिए भने कार्यक्रमको संक्षिप्त जानकारी एमएन दाहालले दिएका थिए। कार्यक्रममा सोरेङ जिल्लाका एसपी नकुल प्रधान, पूर्व लोकसभा सांसद पहलमान सुब्बा, जोरथाङ नगर पञ्चायतका पूर्व अध्यक्ष टीका गुरुङ, पूर्व सचिव शान्त प्रधान, चेयरमेन प्रेम सुब्बा, चेयरमेन मेघनाथ सुब्बालगायत एसडीएम, एडीएमहरूको पनि अतिथिको रूपमा उपस्थिति रहेको थियो। यस अवसरमा भवन निर्माणमा अहोरात्र श्रम गर्ने श्रमिकहरू महादेव मण्डल, मोहम्मद साहित अख्तर, जयन्त रोय, सुनिल पण्डित, विरेन्द्र बानिया, निमा लेप्चा अनि मोहम्मद कासिमलाई पनि सम्मान जनाइएको थियो। स्मरण गराइन्छ, सोरेङमा लगभग ४०० करोड रुपियाँको लागतमा अस्पताल निर्माणको कार्य भइरहेको छ, जसका लागि पूर्व मुख्य सचिव पीके प्रधानले जमिन दान गरेका छन् भने उक्त अस्पतालमा भर्ना भएका रोगीहरूका आफन्तहरूलाई बस्नको खातिर ठाकुरबाडी सेवा सदनको निर्माण गरिएको बताइएको छ जसको लागत एक करोड़ तीन लाख रुपियाँ रहेको निर्माण समितिले जानकारी दिएको छ।










