दार्जिलिङ: पहाडमा सुख शान्ति ल्याउने मेरो प्रयास छ र यस कार्यमा मैले गाली खाँदा पहाड शान्तिमा रहन्छ भने म गाली खानु पनि तयारी छु भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। तक्दाहमा नव निर्मित साई भवनको उदघाटन जीटीएको प्रमुख कार्यपाल अनित थापाले गरेका छन्। उक्त उदघाटन समारोहमा बोल्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले भने, “मेरो राजनैतिक यात्रामा पनि साईको वचन अनुरूप काम गर्ने गर्छु। समयभन्दा बलवान अनि धैर्यभन्दा ठूलो शक्ति अरु केही छैन। पहाडमा सुख शान्ति ल्याउने मेरो प्रयास छ। यस कार्यमा मैले गाली खाँदा पहाड शान्तिमा रहन्छ भने म गाली खानु पनि तयारी छु।”

कृष्ण जन्मअष्टमीको पावन अवसरमा साई भवनको उदघाटन समारोह पनि आयोजना गरिएको थियो। सूत्र अनुसार भवनको निर्माणमा थापाले आर्थिक सहयोग गरेका थिए। कार्यक्रममा कृष्णसिंह मोक्तान, विजय कुमार राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, “कृष्ण सिंह मोक्तान सर मेरा मार्गदर्शक हुन्। उहाँ जस्तो व्यक्तित्वको मार्गदर्शनमा काम गर्दैछु।”

आध्यात्मिकताले नै राजनीतिलाई पनि प्रभाव पार्छ भन्दै उनले भने, “बालविकास कक्षादेखि नै मेरो आध्यात्मिक यात्रा सुरु भएको हो। साईको म भक्त हुँ। म दैनिक रूपमा साईको वचनमाथि मनन गरेर दिनको सुरुवात गर्छु।”
मान्छेले सुख शान्ति खोज्ने आफू भित्र हो भन्दै उनले भने, “हामी जन्मेपछि एक दिन मर्नु नै पर्छ। जन्म अनि मृत्यु माझको जीवनलाई मीठो अनि सजिलो बनाउनु म साईको शरणमा रहेर काम गर्छु। अरूको घर हेरेर दुःखी हुने जात हो मान्छे। अशान्ति खोज्ने हामी आफै हौं।”