पाँच डेसिमल जमीनको अधिसूचना फिर्ता लिनुपर्छ: जोइन्ट फोरम

IMG-20230906-WA0254.jpg

मिरिक: आज मिरिकको ओकाईटी चियाबारीस्थित सार्वजनिक भवनमा जोइन्ट फोरमको आयोजनामा चिया श्रमिकहरुलाई लिएर सभाको आयोजना गरियो। सभामा वर्तमान पहाडमा पाँच डेसिमल पर्जा पट्टा विषय लिएर व्यापक चर्चा परिचर्चा गरियो। सभामा जोइन्ट फोरम सदस्य एचपीडब्ल्यु महासचिव एसके लामा सचिव धिरज राई गोजमुमो ट्रेड युनियनका अध्यक्ष सुरज सुब्बा, क्रामापा सचिव शुनिल राई, बीएमएसका सचिव प्रणय शेर्पा, हाम्रो पार्टी श्रमिक संगठनका अध्यक्ष डीके गुरुङ, सीआईटीयुका जिल्ला सदस्य किस्मत तामाङ उपस्थित थिए।सभामा पाँच डेसिमल पर्जा पट्टा के हो र किन थाप्नु हुँदैन भनी श्रमिकहरुलाई जानकारी गराइएको जानकारी प्राप्त भएको छ। सभापछि जोइन्ट फोरमका प्रवक्ता सुनिल राईले पत्रकारहरुलाई जानकारी गराउँदै भने, ‘दिनाङ्क १ अगस्त २०२३ को दिन बंगाल सरकारको भूमी सुधार अनि शरणार्थी पुनर्वास योजना विभागद्वारा जारी गरिएको श्रमिक विरोधी अधिसूचनाको वर्तमानमा पहाडभरि चौतर्फी विरोध भइरहेको छ। यो स्वाभाविक हो र यो विरोध हुनैपर्छ। किनभने यो अधिसूचना सम्पूर्ण श्रमिकहरुको विरुद्धमा योजनाबद्ध तरिकाले राज्य सरकार र जीटीएले थोपिरहेको छ। यो अधिसूचना अनुसार श्रमिकहरुको जमीन उच्छेद गरेर उक्त जमीनमा ब्यापार गर्ने योजना सरकारले बनाएको छ। हामीलाई हट्टाबाहिर प्रथामा फेरि ढकेलिरहेको छ। यो अधिसूचनाले श्रमिकहरुलाई पक्का पक्की रुपमा शरणार्थीको धब्बा लगाउने कार्य गरिरहेका छन्। यसकारण हामी जोइन्ट फोरमको तर्फबाट यो अधिसूचनालाई राज्य सरकार अनि जीटीएले फिर्ता लिनुपर्छ।’ यदि अधिसूचना फिर्ता नलिएको खण्डमा जोइन्ट फोरमले सडकमा उत्रिएर आन्दोलन गर्ने चेतावनी समेत सुनिल राईले जनाएका छन्। आजको सभामा मिरिक संयुक्त मञ्चका प्रतिनिधि पहाडका सम्पूर्ण राजनैतिक दलका ट्रेड युनियनका सदस्यगण साथै ओकाइटी चियाबारीका श्रमिकहरु उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement