६ सेप्टेम्बरः अष्ट्रेलियाले यस साल भारतमा हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति आफ्नो १५ सदस्यीय टीमको घोषणा गऱ्यो। पेस बलर प्याट कमिन्सले टीमको कप्तानी गर्नेछन्। गत महिना चयनकर्ताहरूले वर्ल्ड कपको निम्ति १८ सदस्यीय टीमको चयन गरेका थिए अनि अहिले त्यसबाट तीनजना खेलाड़ीलाई बाहिर गरिएको छ। वर्ल्ड कप शुरु हुन अघि यस टोलीमा पनि २८ सेप्टेम्बरसम्म फेरबदल गर्न सकिनेछ। अष्ट्रेलिया ५ वटा खिताबको साथ आईसीसी वनडे वर्ल्ड कपको सबैभन्दा सफल टीम हो।
अष्ट्रेलियाले दक्षिण अफ्रिका यात्रा शुरु हुन अघि नै १८ सदस्यीय टीमको घोषणा गरेको थियो। अहिले त्यस टीममा रहने नाथन एलिस, आरोन हार्डी र भारतीय मूलका स्पिनर तनवीर संघालाई बाहिर गरिएको छ। २१ वर्षीय तनवीरले दक्षिण अफ्रिकामै अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए अनि आफ्नो पहिलो म्याचमै ४ विकेट हासिल गरी सबैको मन जितेका थिए तर अष्ट्रेलिया टीममा पहिलादेखि नै सीनियर स्पिनर एडम जाम्पा रहेका छन्। यसैकारण संघा वर्ल्ड कपको टीमबाट बाहिर भए।
अष्ट्रेलियाको वर्ल्ड कप खेल्ने टीममा कुनै आश्चर्य गर्ने नाम छैन। दिग्गज ब्याटर मार्नस लाबुशेनलाई पहिला घोषित टीमबाट नै बाहिर राखिएको थियो। जोश ईंग्लिश, क्यामरुन ग्रीन, ट्रेविस हेड र एश्टन एगरलाई पहिलोपल्ट वर्ल्ड कपको टीममा चयन गरिएको छ। यसरी नै स्टीव स्मिथको यो चौथो वर्ल्ड कप हुनेछ। उनी यस टीमका एकमात्र खेलाड़ी हुन्, जो वर्ल्ड कप २०११-मा अष्ट्रेलियाई टीमको हिस्सा थिए।
अष्ट्रेलियाई टीमले अन्तिमपल्ट २०१५-मा वर्ल्ड कपको खिताब जितेको थियो। त्यसअघि टीमले लगातार तीनपल्ट (१९९९, २००३ र २००७) खिताब जितेको थियो। यसबाहेक ९१८७-मा भारतमा भएको वर्ल्ड कपमा पनि अष्ट्रेलिया च्याम्पियन रहेको थियो।
वर्ल्ड कपको निम्ति अष्ट्रेलियाई टीमः
प्याट कमिन्स (कप्तान), एलेक्स केरी, स्टीव स्मिथ, जोश ईंग्लिश, सीन एबट, एश्टन एगर, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेविस हेड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेविड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क।










