६ सेप्टेम्बरः बीस वर्षीय झेंग किनवेनले गत वर्षकी उपविजेता ट्यूनिशियाकी ओन्स जेबुरलाई सीधा सेटमा ६-२, ६-४-ले पराजित गरी यूएस ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा स्थान बनाइन्। टुर्नामेण्टमा २३औं वरीयता प्राप्त चीनकी खेलाड़ीले पाँचौं वरीयता प्राप्त जेबुरलाई बेसलाइनमा आफ्नो आक्रामक खेलले पराजित गरिन्। उनले म्याचमा २१ वटा विनर्स लगाइन्। यस जीतको साथै झेंग पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा पुगिन्। जेबुरको हारपछि गत वर्ष यूएस ओपनको सेमिफाइनलमा पुग्ने चार खेलाड़ीहरूमा केवल दोस्रो वरीयता प्राप्त बेलारुसकी आर्यना सबालेंका मात्र खिताबी होड़मा सामेल छिन्। सबालेंका आउँदा हप्ता महिला टेनिस संघद्वारा जारी गरिने ऱ्यांकिंगमा नम्बर एक खेलाड़ी बन्नेछिन्। गत विजेता तथा अहिले विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेक चौथो राउण्डमै बाहिर भएकी छन्।
क्वार्टर फाइनलमा झेंगको सामना सबालेंका र १३औं वरीयता प्राप्त दारिया कासातकिनाबीच खेलिने म्याचको विजेतासँग हुनेछ। त्यस म्याचमा पनि जीत हासिल गर्न सफल भए झेंग २०१४-मा सेमिफाइनलमा पुग्ने चीनकी खेलाड़ी पेंग शुई र २०१३-मा यस्तो गर्ने ली ना-की रेकर्डको बराबरी गर्नेछिन्। यसबाहेक अमेरिकाकी मेडिसन कीजले आफ्नै देशकी जेसिका पेगुलालाई ६-१, ६-३-ले पराजित गरी क्वार्टर फाइनलमा स्थान बनाइन्। पेगुलाले अहिलेसम्म चारैवटा ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाएकी छन् तर कुनैमा पनि सेमिफाइनलमा पुग्न सकेकी छैनन्। अन्तिम आठमा कीजले चेक गणराज्यकी मार्केटा वोन्द्रोयूसोवाको चुनौती स्वीकार्नेछिन्, जसले अमेरिकाकी गैर वरीयता प्राप्त पेटन स्टर्न्सलाई ६-७, ६-३, ६-२-ले पराजित गरिन्। वोन्द्रोयूसोवासँग विम्बल्डनपछि दोस्रो ग्राण्ड स्ल्याम जित्ने मौका छ।
पुरुष वर्गमा शीर्ष वरीयता प्राप्त तथा गत विजेता स्पेनका कार्लोस अल्काराजले इटलीका गैर वरीयता प्राप्त मेटियो अर्नाल्डीलाई ६-३, ६-३, ६-४-लेपराजित गरी सजिलैसँग क्वार्टर फाइनलमा स्थान बनाए। बीस वर्षीय अल्काराज ओपन युग (१९६८-देखि)-मा लगातार तेस्रोपल्ट यूएस ओपनको क्वार्टर फाइनलमा पुग्ने सबैभन्दा युवा खेलाड़ी बनेका छन्। अमेरिकाका महान खेलाड़ी आन्द्रे आगासीले २१ सालभन्दा अघि तीनपल्ट यूएस ओपनको क्वार्टर फाइनलमा स्थान बनाएका थिए। विम्बल्डन च्याम्पियन अल्काराजले अन्तिम आठमा छैटौं वरीयता प्राप्त यानिक सिनर र १२औं वरीयता प्राप्त एलेक्जेण्डर ज्वेरेवबीच खेलिने म्याचको विजेताको चुनौती स्वीकार्नेछन्। यसबाहेक रुसका आन्द्रे रुबलेव पनि क्वार्टर फाइनलमा पुगे। रुबलेवले ब्रिटेनका ज्याक ड्रेपरलाई ६-३, ३-६, ६-३, ६-४-ले पराजित गरे। रुबलेव नवौंपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा पुगेका छन्।