केन्द्रिय मन्त्री सिंहले कार्यकर्ताहरूलाई जन-जनमा गएर केन्द्रिय सहुलियतहरूबारे जानकारी लिऩ गरे आह्वान

IMG-20220710-WA0218.jpg

गान्तोक। तीन दिवसीय सिक्किम भ्रमणमा रहेका केन्द्रिय शिक्षा तथा विदेश मामिला राज्यमन्त्री डा. राजकुमार रंजन सिंहले आज नाम्ची जिल्लाका विभिन्न स्थानको भ्रमण गर्नका साथै पार्टीको सांगठनिक कार्यक्रमहरूमा पनि सहभागिता जनाए। भ्रमण अवधिमा भाजपा प्रदेश अध्यक्ष श्री डीबी चौहान, विधायकगण श्रीमती राजकुमारी थापा, श्रीमती फरवन्ती तामाङ, उपाध्यक्ष श्री अर्जुन राईलगायत प्रदेश कार्यसमिति सदस्यगण तथा नाम्ची जिल्ला समितिका पदाधिकारीगण राज्यमन्त्रीका साथमा थिए भने नामथाङ, नाम्ची, राभाङ्ला अनि याङगाङमा मण्डलस्तरीय कार्यकर्ताहरूले उनलाई न्यानो स्वागत जनाए। आजको भ्रमण अवधि उनले नाम्चीको सोलोफोकस्थित चारधाममा सम्पूर्ण मानव जगतको कल्याणको कामना गर्दै पूजा अर्चना तथा रूद्राभिषेक गरेका थिए।
दोस्रो चरणमा मन्त्री सिंहले राभङ्लास्थित भाजपा कार्यालयमा जिल्लाका विभिन्न स्थानहरूबाट उपस्थित कार्यकर्तागण तथा नागरिक समाजका सदस्यहरूसित बैठक गरे। यस क्रममा उनले विभिन्न सांगठनिक संरचना अनि कार्यक्रमहरूबारे जायजा लिँदै पार्टीलाई तृणमूल स्तरमा मजबूत बनाउन विभिन्न उपाय तथा सुझाउहरू दिए। उनले सबै कार्यकर्ताहरू एकजुट भएर पार्टीलाई सफलताको शिखरमा पुऱ्याउने आह्वान गरे।

सभालाई सम्बोधन गर्दै मन्त्री रंजन सिंहले केन्द्र सरकारले आम जनताको निम्ति विभिन्न कल्याणकारी योजनाहरू लागू गरेर गरीबवर्गको जीवनस्तर माथि उठाउन पूरजोर पहल गरिरहेको जानकारी गराउँदै कार्यकर्ताहरूले जन-जनमा गएर यसको फाइदा पुगिरहेको छ कि छैन भनेर जाँच-पढ्ताल गर्नुपर्ने अनि मानिसहरूलाई जागरूक गराउनुपर्ने आह्वान गरे। उनले मोदी सरकारको आठ वर्षमा सिक्किमको पनि चौतर्फी विकास भइरहेको बताउँदै विशेष गरेर राज्यमा राष्ट्रिय राजमार्गको व्यापक विस्तार, हवाईअड्डाको सञ्चालन, रेलमार्गको युद्धस्तरमा भइरहेको कार्यप्रगतिबारे उपस्थित कार्यकर्ताहरूलाई जानकारी दिए। यस अतिरिक्त उनले ग्रामीण क्षेत्रमा सड़क सम्पर्क सुनिश्चित गर्न प्रधानमन्त्री ग्राम सड़क योजनाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै विगत 8 वर्षमा सिक्किममा ११०० किलोमिटरभन्दा अधिक ग्रामीण सड़कको निर्माण भएको बताए। यसै गरी शिक्षा क्षेत्रमा नयाँ शिक्षा नीतिबारे बोल्दै उनले दशकौंदेखि एकै प्रकारको शिक्षा व्यवस्थालाई ऐतिहासिक रूपान्तरण गर्न यो एउटा माइलखुट्टी साबित हुने बताए।
यसै गरी मोदी सरकारले पूर्वोत्तर क्षेत्रलाई अधिक प्राथमिकताका साथ सर्वाङ्गीण विकासको मूलधारामा ल्याउने पहल गरिरहेको बताउँदै विगत आठ वर्षमा यसको सफलताका विभिन्न उदाहरणहरू पेश गरे। उनले विशेष गरेर पूर्वोत्तर राज्यहरूमा व्याप्त हिंसालाई समाप्त गरेर मोदी सरकारले शान्ति पुनर्बहालीका साथै विकासको क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताए।
सभालाई प्रदेश अध्यक्ष श्री डीबी चौहान, विधायिका श्रीमती राजकुमारी थापालगायत अन्य पार्टी पदाधिकारीहरूले पनि सम्बोधन गरेका थिए। कार्यक्रमको समापनपछि आज नै केन्द्रिय मन्त्रीले याङगाङमा निर्माणाधीन सिक्किम केन्द्रिय विश्वविद्यालय क्याम्पसको पनि निरीक्षण भ्रमण गरेर कार्यप्रगतिबारे जायजा लिए। भोलि ११ जुलाईको दिन मन्त्री सिंहले उत्तर सिक्किमको भ्रमण गर्नेछन् जहाँ उनले आधिकारिक तथा सांगठनिक कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement