नयाँ दिल्ली: जी-२० बैठक सेप्टेम्बर ९-१० बीच दिल्लीको प्रगति मैदानमा हुन लागेको छ। यस बैठकको रात्रिभोजमा सहभागी हुन राष्ट्रपति भवनबाट निमन्त्रणा कार्ड पठाइएको छ। कांग्रेस नेता जयराम रमेशले निमन्त्रणा कार्डमा प्रेसिडेन्ट अफ् इण्डियाको सट्टा प्रेसिडेन्ट अफ् भारत लेखिएको आरोप लगाएका छन्। कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘यो समाचार वास्तवमै सत्य हो। राष्ट्रपति भवनले सेप्टेम्बर ९ मा हुने जी-२० डिनरको निमन्त्रणा पठाएको छ। जसमा इण्डियाको सट्टा भारत लेखिएको छ।
जी–२० सम्मेलनअघि कांग्रेसले केन्द्र सरकारमाथि आरोप लगाएको छ। पार्टीका महासचिव जयराम रमेशले सेप्टेम्बर ९ मा हुने जी–२० शिखर सम्मेलनको रात्रिभोजका लागि राष्ट्रपति भवनबाट पठाइएको निमन्त्रणा पत्रमा प्रायः प्रयोग हुने ‘प्रेसिडेन्ट अफ् इण्डिया’लाई बदली गरिएको दाबी गरेका छन्। उनले इण्डिया शब्द हटाएर ‘प्रेसिडेन्ट अफ् भारत’ प्रयोग गरिएको दाबी गरेका छन्। एक ट्वीटमा संविधानको सन्दर्भमा जयराम रमेशले भने, ‘यसको अनुच्छेद १ मा ‘इण्डिया अर्थात् भारत राज्यहरूको संघ हुनेछ’ लेखिएको छl तर अब राज्यहरूको संघमा पनि आक्रमण भइरहेको छl’
यो पूरै विवादमा कांग्रेस नेता शशि थरुरको बयान पनि आएको छ। उनले इण्डियालाई भारत भन्नमा संवैधानिक आपत्ति नरहेको बताए। उनले भने, ‘यो देशको दुई नाम मध्ये एक हो। मलाई आशा छ कि शताब्दीयौंदेखि निर्माण भएको ब्रान्ड मूल्य इण्डिया नामलाई पूर्ण रूपमा हटाउन सरकार यति मूर्ख हुनेछैन। हामीले दुवै नामहरू प्रयोग गरिरहनुपर्छ। एक नाम संसारभर चिनिने नाम होl’ कांग्रेस सांसद प्रमोद तिवारीले संविधान संशोधन गरेर इण्डियाको नाम परिवर्तन गर्ने अड्कलबाजी भएको टिप्पणी गरेका छन्। उनले इण्डिया शब्दसँग डराएको बताए। ‘के उनीहरु संविधान संशोधनको हदसम्म जान्छन्? संविधानमा लेखिएको छ, ‘इण्डिया द्याट इज भारत’l भाजपा भित्रको डरले मोदीजीको भय देखाउँछ। यहाँ इण्डिया बन्यो उता भाजपा लट्टीपट्टि कस्न शुरु भयोl तपाईं संसारबाट ‘इण्डिया’ शब्द मेटाउन सक्नुहुन्न। हामीलाई हाम्रो भारत र इण्डियामा गर्व छl’