खरसाङ: विश्व कराते महासंघबाट मान्यताप्राप्त भारतको कराते इण्डिया अर्गनाइजेशनले आयोजना गरेको राष्ट्रिय कराते प्रतियोगितामा पहिलो पटक खरसाङका एक बालिकाले भाग लिने योग्यता हासिल गरेकी छिन्। सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी विनिशा खवासले कलकत्तामा सम्पन्न भएको चयन प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितेपछि उक्त राष्ट्रिय प्रतियोगितामा भाग लिने योग्यता हासिल गरेकी हुन्। ६३ लाईन महानदी निवासी दिवेश खवास अनि उषा खवासकी पुत्री विनिशा खवासले मार्शल अर्ट अनि फिटनेश अकादमीको महानदी खाशाबाट प्रशिक्षण प्राप्त गरिरहेकी छिन् भनी मार्शल आर्ट फिटनेश अकादमीका निर्देशक तथा प्रमुख प्रशिक्षक सेन्सी सन्दीप प्रधानले बताएका छन्। विनिशा खवासले यो राष्ट्रिय प्रतियोगितामा भाग लिने योग्यता प्राप्त गरेर दार्जीलिङ पहाड़को निम्ति एउटा इतिहास रचेकी सन्दीप प्रधानको दावी छ। राज्यको टोलीले लगातार कठिन राउन्डपछि उत्कृष्ट प्रदर्शन र्दै योग्यता हासिल गरेपछि आगामी २१ देखि २३ सेप्टेम्बरसम्म उत्तराखण्डको देहरादुनमा सम्पन्न हुने अखिल भारतीय स्तरको राष्ट्रिय च्याम्पियनशीपमा पश्चिम बंगाल राज्यको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेको हो। विनिशाले मार्शल आर्ट अनि फिटनेश अकादमीमा २०१८ देखि तालिम लिदै आएकी छिन्। खेलाड़ी खवासले वर्ष २०१८ मा भारतको स्कूल गेम्स फेडरेशनको राष्ट्रिय प्रतियोगितामा पनि भाग लिइसकेकी छिन्। राष्ट्रिय प्रतियोगितामा भाग लिन उनी आगामी २० सेप्टेम्बरको दिन देहरादुन प्रस्थान गर्नेछिन्। उनका प्रशिक्षक तथा मार्शल आर्ट अनि फिटनेश अकादमीका निर्देशक सेन्सी सन्दीप प्रधानले शुभकामना व्यक्त गर्दै यो सम्पूर्ण जीटीए क्षेत्रको लागि गर्वको क्षण भएको बताएका छन्। सन्दीप प्रधानले खेलाड़ी विनिशा खवासलाई राष्ट्रिय स्तरको प्रतियोगितासम्म पुऱ्याउन समन्वय गर्ने बताउँदै आगामी दिनमा अकादमीले अझ धेरै फाइटर अघि ल्याउन कार्य गर्ने अनि अन्तर्राष्ट्रिय करातेमा गोर्खा खेलाड़ी पुगेको हेर्न चाहेको बताएका छन्।