एसकेएम सरकारको कार्यकालमा शिक्षा क्षेत्रमा विशेष सुधार आएको छः मुख्यमन्त्री

psg_548

गान्तोकः एसकेएम सरकारको पछिल्लो चार वर्षको कार्यकालमा सिक्किमको शिक्षा क्षेत्रमा धेरै सुधार आएको मुख्यमन्त्री पीए तामाङले बताएका छन्। सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको कारण यस क्षेत्रमा सुधार आएको तथा राष्ट्रिय पात्रता प्रवेश परीक्षा (एनईईटी) मा उतीर्ण गर्ने सिक्किमे विद्यार्थीको सङ्ख्या बढेर गएको उनले बताए। सरकारी स्कूलको शिक्षा क्षेत्रमा विशेष सुधार आएको उल्लेख गर्दै सिक्किमे विद्यार्थीहरूले ५५० भन्दा अधिक अङ्क ल्याएर एनईईटी उतीर्ण गर्नु शिक्षा क्षेत्रमा प्रगतिको उदाहरण रहेको उनले बताएका छन्।

आज गान्तोकको मनन केन्द्रमा आयोजित राज्यस्तरीय शिक्षक दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले शिक्षा क्षेत्रमा भएको सुधारको श्रेय शिक्षकहरूलाई दिए। चार वर्षको एसकेएम सरकारले शिक्षा क्षेत्रमा ल्याएको सुधारलाई 50 प्रतिशतको सुधार मान्दै उनले शिक्षा क्षेत्रमा १०० प्रतिशत सुधार ल्याउन सम्बन्धित सबै पक्षबाट सहकार्यको आग्रह गरेका छन्। उनले शिक्षा क्षेत्रसित सम्बन्धित कुनै पनि विषयमा सम्झौता गर्नु नहुने बताए। आफ्नो सरकारले शिक्षा क्षेत्रलाई विशेष महत्त्व दिएका कारण सरकारी स्कूलमा पढ्ने गरीब परिवारका विद्यार्थीले पनि एमबीबीएस गर्ने अवसर पाएका बताउँदै मुख्यमन्त्रीले यो नै एसकेएम सरकारले चाहेको परिवर्तन हो भने। शिक्षा क्षेत्रमा सुधारको आवश्यकता रहेका कारण कोभिड जस्तो कठीन परिस्थितिमा पनि शिक्षालाई महत्त्व दिएको, दीर्घ लम्बित एड्हक शिक्षकहरूको समस्या समाधान गर्न सरकारले आठ वर्षे नीति निर्धारण गरेर एड्हक शिक्षकहरूलाई न्याय दिलाएको र सर्विस ब्रेक भएका शिक्षकहरूलाई न्याय दिलाउन पनि सरकारले समाधानको बाटो निकालेको मुख्यमन्त्रीले बताए।

अहिले सिक्किमले विभिन्न क्षेत्रमा गरेको प्रगतिको पछि शिक्षा क्षेत्रको व्यापक योगदान छ भन्दै शिक्षकहरूलाई खुशी राख्न सरकारले हर सम्भव प्रयास गरेको बताए। उनले एसकेएम सरकारबाट शिक्षकहरू निराश हुने कुनैपनि अवसर दिइने छैन भन्दै सिक्किम शिक्षक संघको पक्षबाट सरकार समक्ष राखिएका सबै माग विभाग र संघसित बसेर परामर्श गर्ने र समाधानको बाटो निकाल्ने वचन दिए। ग्रामीण क्षेत्रका स्कूलमा शिक्षाको स्तरमा सुधार ल्याउन नयाँ नियुक्ति भएका अस्थायी शिक्षकहरूले नियुक्ति पाएको स्थानमा नै आठ वर्ष सेवा दिनुपर्ने नियम रहेकाले यसलाई शिक्षकहरूले विद्यार्थीको हितमा पालन गरिदिन मुख्यमन्त्रीले आग्रह गरे।

शिक्षक दिवसको अवसरमा राज्य शिक्षक पुरस्कार, प्रंशसा पत्र र राष्ट्रिय शिक्षक पुरस्कार पाउने शिक्षकहरूलाई बधाई दिंदै उनीहरूको सम्मानको लागि सरकारले एक्सपोजर भ्रमणको व्यवस्था पनि मिलाएको बताए। यस समारोहमा उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री पिएस गोलेले किताबी शिक्षासंगै व्यवहारिक शिक्षामा पनि ध्यान दिन आग्रह गरे। अर्कोतर्फ सिक्किमको मुख्यमन्त्रीको रूपमा जनताले अवसर दिए केवल १० वर्ष मात्र सेवा गर्ने जानकारी दिंदै मुख्यमन्त्रीले यसपछि राजनीतिबाट सन्यास लिएर शिक्षण क्षेत्रमा नै काम गर्नै शिक्षक दिवसको अवसरमा घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement