दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय समितिको बैठक आज दार्जीलिङस्थित जिम खाना क्लबको सेन्तिनेरी हलमा सम्पन्न भएको थियो। उक्त सभा पार्टी अध्यक्ष अनित थापाको सभापतित्वमा सम्पन्न भएको थियो। ज्योती कुमार राईले सभा सञ्चालन गरेका थिए। उनले सदस्यहरूलाई स्वागत गर्दै चुनाव हारेता पनि हाम्रो मनोबल हारेको थिएन र आजको सभा हाम्रो जीतको खुशी साट्ने सभा पनि हो भनी बताएका छन्।
सभामा भागोप्रमो अध्यक्ष अनित थापाले सदस्यहरूलाई आफ्नो सम्बोधनमा हारेर हारेर जित्नु पाउँदा, जीतको मिठास बेग्लै हुँदो रहेछ र हाम्रो जीत बीजीपीएम परिवारको जीत हो भनी बताएका छन्। उनले पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै हामी हारेको समय पनि तपाईहरु सबैले संघर्ष गर्नु भयो र यो संघर्ष अझ जारी रहनु पर्छ, पार्टी छ र नै हामी छौं, पार्टीलाई मजबूत बनाउनु हाम्रो प्रथम कर्तव्य रहन्छ भनी बताए। थापाले हामी एउटा परिवार हौं, हाम्रो जीतको निम्ति सबैलाई बधाई दिनु पनि बोलाएको सभा हो भनी बताउँदै
हामी सरकारसंग नै मिलेर काम गर्नेछौं, राज्यकी मुख्यमन्त्रीलाई शपथ ग्रहण समयको निम्ति निमन्त्रणा दिएको छु र उनी भोलि आउनु हुनेछ, उनलाई रोहिणी, खरसाङ, टुङ, सोनादा, रङबुल, घूम जोरबंगलो, दार्जीलिङ्ग (रेलवे स्टेशन, भानु भवन)मा पार्टीको तर्फबाट स्वागत गर्नेछौं भनी बताएका छन्।
आगामी दिनको चुनौती माथि बोल्दै थापाले चुनाव सकियो, हामीले जित्यौं, अब चुप होइन, अब झन बेसी काम गर्नुपर्छ, सांगठनिक कार्यमा लाग्नुपर्छ, हामी पहाड बनाउँछौ भनेर राजनीतिमा उभिएका हौं, हाम्रो चुनौती पहाडलाई राम्रो बनाउनु हो। प्रत्येक विभागमा बोर्ड बनाएर काम गर्नेछौं भनी बताए।