पञ्चायत समिति अनि ग्राम पञ्चायतको पदहरूमा भर्ती गर्दा नेपाली भाषा अनिवार्य विषय हुनु पर्छ: अनित थापा
दार्जिलिङ: जीटीए प्रशासनिक क्षेत्रका ग्राम पञ्चायत अनि पञ्चायत समितिमा भर्ती गर्दा नेपाली भाषालाई अनिवार्य विषयको रूपमा समावेश गर्ने अनुरोध गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले पञ्चायत अनि ग्रामीण विकास विभागका मन्त्री प्रदीप कुमार मजुम्दारलाई पत्राचार गरेका छन्। पत्रमा दुई दशकको अन्तरालपछि दार्जिलिङ र कालेबुङमा हालै सम्पन्न दुई स्तर पञ्चायत चुनाव, क्षेत्रका जनताका लागि ऐतिहासिक क्षण हो। यो तृणमूल स्तर शासनको दिशामा एक महत्वपूर्ण कदम थियो र यसले बासिन्दाहरूमा जिम्मेवारी र उत्साहको नवीकरण ल्याएको छ भनी उल्लेख गरेका छन्। थापा भन्छन् कि हाम्रो क्षेत्रलाई अद्वितीय बनाउने एउटा प्रमुख पक्ष भनेको लिखित र बोलिने दुवै भाषामा नेपाली भाषाको प्राबल्य हो। नेपाली भाषा एउटा भाषा मात्र होइन यो हाम्रो सांस्कृतिक पहिचानको अभिन्न अंग हो। तसर्थ, म जीटीए प्रशासनिक क्षेत्रका ग्राम पञ्चायत र पञ्चायत समितिमा विभिन्न रिक्त पदहरूमा भर्तीको लागि नेपाली भाषालाई अनिवार्य विषयको रूपमा समावेश गर्ने महत्त्वमा जोड दिन चाहान्छु।
नेपाली भाषालाई अनिवार्य विषय बनाउने जोडमाथि तर्क राख्दै थापा भन्छन्, “यस कदमले पदहरूका लागि चयन गरिएका व्यक्तिहरू, स्थानीय जनताले मुख्य रूपमा प्रयोग गर्ने भाषाको जानकार छन् भन्ने कुरा सुनिश्चित गर्ने मात्र होइन, समावेशीता र सांस्कृतिक संरक्षणलाई पनि बढावा दिन्छ। यसले निर्वाचित प्रतिनिधिहरू र बासिन्दाहरू बीच प्रभावकारी सञ्चारलाई सक्षम बनाउँछ, राम्रो शासन र सामुदायिक संलग्नतालाई बढावा दिन्छ। यस प्रस्तावलाई गम्भीरताका साथ विचार गरी हाम्रो क्षेत्र भित्रका ग्राम पञ्चायत र पञ्चायत समितिमा भर्ना गर्नका लागि नेपाली भाषालाई अनिवार्य आवश्यक कदम चाल्न म तपाईंको आदरणीय विभागलाई विनम्र अनुरोध गर्दछु। यो निर्णयले हाम्रो क्षेत्रको सांस्कृतिक र भाषिक विविधतासँग मेल राख्दै जीटीए प्रशासित क्षेत्रको समग्र विकास र सद्भावमा पनि योगदान पुर्याउनेछ।”