५ सेप्टेम्बरः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यस साल हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति १५ सदस्यीय टीमको घोषणा गऱ्यो। रोहित शर्माको कप्तानीमा रहने यस टीममा फिटनेस समस्याहरूसँग जुझिरहेका विकेटकीपर ब्याटर केएल राहुलले स्थान पाएका छन्। यसरी नै एशिया कपको निम्ति टीममा सामेल पेस बलर प्रसिद्ध कृष्णा र देब्रे हातका ब्याटर तिलक वर्माले चाहिँ टीममा स्थान पाएनन्। अजित अगरकरको अध्यक्षतामा रहने चयन समितिले १५ सदस्यीय भारतीय टीममा सातजना ब्याटर र चारजना अलराउण्डरलाई स्थान दिएका छन्। राहुल ह्यामस्ट्रिंगको चोटले गर्दा गत केही महिनादेखि टीमबाट बाहिर रहेका छन्। एशिया कपको निम्ति चयन गरिएको टीममा राहुललाई स्थान दिइएको थियो तर उनले अहिलेसम्म एउटा म्याच पनि खेलेका छैनन्। मुख्य चयनकर्ता अजीत अगरकरले भने, फिटनेससँग सम्बन्धित केही मुद्दाहरू छ तर तीनैजना खेलाड़ी खेलमा फर्किएका छन्। केएल फिट देखिएका छन्। मेरो विचारमा वर्ल्ड कपको निम्ति यो सबैभन्दा सन्तुलित टीम हो। राहुललाई अहिले पहिला जस्तो समस्या छैन तर एशिया कपको ठीक अघि लागेको मामूली चोटले गर्दा उनले म्याच खेल्न सकेका छैनन्। उनी हाम्रो निम्ति महत्त्वपूर्ण खेलाड़ी हुन्। आईसीसी वनडे वर्ल्ड कप ५ अक्टोबरदेखि भारतमा शुरु हुनेछ। उद्घाटन म्याचमा ईंग्ल्याण्ड र न्यूजील्याण्डबीच भिड़न्त हुनेछ। यसरी भारतको पहिलो म्याच ८ अक्टोबरमा अष्ट्रेलिया विरुद्ध रहेको छ। आज घोषित टीममा २८ सेप्टेम्बरसम्म फेरबदल गर्न सक्ने प्रावधान रहेको छ।
भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पाण्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, जसप्रीत बुमराह, कुलदीप यादव।