नयाँ दिल्ली: टीम इण्डियाका स्टार तेज गेंदबाज जसप्रित बुमराहको घरमा खुशीको खबर आएको छ। उनकी श्रीमती सञ्जना गणेशनले सोमबार छोरालाई जन्म दिएकी छन्। जसका कारण बुमराह एसिया कप–२०२३ क्रिकेट प्रतियोगिता बीचमै छाडेर श्रीलंकाबाट स्वदेश फर्किएका छन्। बुमराहले सोमबार इन्स्टाग्राममा एउटा तस्वीर पोस्ट गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रो सानो परिवार अहिले बढेको छ। हाम्रो हृदय हामीले सोचेको भन्दा धेरै भरिएको छ। आज बिहान हामीले हाम्रो छोरा, अंगद, जसप्रित बुमराहलाई संसारमा स्वागत गर्यौं, हामी अत्यन्तै हर्षित छौं र हाम्रो जीवनको यो नयाँ अध्यायले के ल्याउछ भनेर पर्खन सक्दैनौं।’ जसप्रित र सञ्जनाको छोराको नाम अंगद राखिएको छ। बुमराहले इन्स्टाग्राममा यो जानकारी दिएका हुन्। बुमराह हालै मैदानमा फर्किएका छन्। उनले आयरल्यान्डविरुद्धको टी–२० सिरिजमा भारतीय टोलीको कमाण्ड सम्हालेका थिए। त्यसपछि उनी एसिया कप खेल्न श्रीलंका गएका थिए। बुमराहले आइतबार अचानक कोलम्बोबाट मुम्बईको फ्लाइट समातेका थिए। यसका लागि उनले व्यक्तिगत कारण बताए। अहिले फ्यानका अगाडि सबै कुरा प्रष्ट भइसकेका छन्।