गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिँह तामाङले शिक्षक दिवसको उपलक्ष्यमा, समस्त शिक्षकवर्गलाई शुभकामना व्यक्त गर्दै ज्ञान, मार्गदर्शन र प्रेरणाले हाम्रो जीवनलाई उज्यालो पार्ने सबै समर्पित शिक्षकहरू सिक्किमको गौरव रहेको उल्लेख गरेका छन्। उनले सन्देशमा शिक्षकहरुप्रति अभिवादन र शुभकामना व्यक्त गर्दै भारतका पूर्व राष्ट्रपति, विद्वान, दार्शनिक, र भारत रत्न डा. सर्वपल्ली राधाकृष्णनलाई श्रद्धांजली अर्पण गरेका छन्। सरकारले शिक्षकहरूको लागि निरन्तर काम गरिरहेको र धेरै सुधारहरू ल्याउँदै उनीहरूको योगदान, समर्पण, धैर्यता, बुद्धिमत्ता, र विद्यार्थीहरूलाई उत्कृष्ट बनाउन उल्लेखनीय कार्य गरेको विचार राखेका छन्। युवा मस्तिष्कलाई आकार दिन र सिक्ने प्रेमलाई बढावा दिन शिक्षकहरुको अथक प्रतिबद्धता असाधारण छ भन्दै शिक्षाको लागि उनीहरूको जोश आशाको किरण हामी सबैको लागि सशक्तिकरणको स्रोत रहेको उल्लेख गरेका छन्।