यूएस ओपनः नम्बर एक खेलाड़ी स्वियातेक बाहिर, जोकोविच क्वार्टर फाइनलमा

IMG-20230904-WA0271.jpg

४ सेप्टेम्बरः यूएस ओपन टेनिस टुर्नामेण्टमा आइतवारको दिन निक्कै रोमाञ्चक र उतार-चड़ाउले भरिएको रह्यो। एकातिर नोवाक जोकोविच र युवा खेलाड़ी कोको गौफले क्वार्टर फाइनलमा स्थान बनाए भने वर्तमान च्याम्पियन तथा विश्वकी नम्बर एक खेलाड़ी पोल्याण्डकी इगा स्वियातेक चाहिँ टुर्नामेण्टबाट बाहिर भइन्। सेरेना विलियम्सपछि गत दुई दशकभन्दा अधिक समयमा कोको गौफ लगातार दोस्रोपल्ट यूएस ओपनको क्वार्टर फाइनलमा पुग्ने अमेरिकाकी सबैभन्दा युवा खेलाड़ी बनिन्। उन्नीस वर्षीय गौफले पूर्व अष्ट्रेलियन ओपन च्याम्पियन ३३ वर्षीय क्यारोलिना वोज्नियाकीलाई ६-३, ३-६, ६-१-ले पराजित गरिन्। अब उनको सामना २०औं वरीयता प्राप्त लाटवियाकी खेलाड़ी येलेना ओस्टापेंकोसँग हुनेछ, जसले गत च्याम्पियन इगा स्वियातेकलाई ३-६, ६-३, ६-१-ले पराजित गरिन्। यस हारपछि स्वियातेकले नम्बर एक ऱ्यांकिंग पनि गुमाउनेछिन् अनि युक्रेनकी एरिना सबालेंका विश्वकी नम्बर एक खेलाड़ी बन्नेछिन्।
पुरुष एकल वर्गमा सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचले अन्तिम आठमा स्थान बनाए। रेकर्ड २३ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचले क्वालीफायर बोरना गोजोलाई सीधा सेटमा ६-२, ७-५, ६-४-ले पराजित गरे। अब उनको सामना अमेरिकाका नवौं वरीयता प्राप्त टेलर फ्रिट्जसँग हुनेछ, जसले स्विट्जरल्याण्डका क्वालीफायर डोमिनिक स्टिकरलाई ७-६, ६-४, ६-४-ले पराजित गरे। यूएस ओपनमा यो जोकोविचको १३औं अनि फ्रिट्जको पहिलो क्वार्टर फाइनल हुनेछ। फ्रिट्ज विरुद्ध जोकोविचको रेकर्ड ७-०-को रहेको छ। आउँदो एटीपी ऱ्यांकिंगमा जोकोविचले कार्लोस अल्काराजलाई पछि छोड़ेर शीर्ष स्थान हासिल गर्ने तय छ।

विश्वका नम्बर एक खेलाड़ी तथा गत विजेता कार्लोस अल्काराजले चार सेटको म्याचमा जीत हासिल गरी पुरुष एकलको चौथो राउण्डमा स्थान बनाए। स्पेनिश खेलाड़ीले तेस्रो राउण्डको म्याचमा महत्त्वपूर्ण मौकाहरूमा पोइण्ट्स बटुलेर २६औं वरीयता प्राप्त डेन इभान्सलाई ६-२, ६-३, ४-६, ६-३-ले पराजित गरे। अल्काराजलाई म्याचको कुनै पनि समय तनाउमा देखिएन अनि उनलाई दर्शकहरूबाट भरपूर समर्थन पनि प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement