पाँच डेसिमल पट्टा हाम्रो निम्ति घातक हो: डीके गुरूङ
दार्जीलिङ: पाँच डेसिमल पट्टा हाम्रो निम्ति घातक हो भनी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। जोइण्ट फोरमले आज सिंगताम चिया बगानमा गेट मिटिङङको आयोजना गरेको थियो। आयोजित गेट मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष डीके गुरूङले पाँच डेसिमल पट्टा तपाई हाम्रो निम्ति घातक हो भनी बताएका छन्। उनले भने, हाम्रो साथीहरूले पाँच डेसिमल पट्टा थोप्ने काम गर्दैछ। हामी पट्टाको विरोधमा छैनौं। हामीलाई पनि पट्टा चाहिन्छ। तर पाँच डेसिमल होइन, हाम्रो पिता पुर्खाले कमाएको जमीनको सबै पट्टा हामीलाई चाहिन्छ।’
उनले अघि भने, ‘हाम्रो साथी भाइहरूले भन्दै थिए चिया बगानहरूमा गाई बस्तुहरू पाल्न छोडयो, बाँदरको कारणले गर्दा मकै रोप्न छोडयो, बदेल, चितुवाको कारणले गर्दा खेतीपाती गर्न सबै छोडयो भन्ने जस्ता कुराहरू गर्दै थिए। यस्तो अर्थहीन कुरा नगर्नु होस् तपाईलाई हाम्रो जमीनको पट्टा चाहिन्छ। पाँच डेसिमल पट्टा थोपेर जातिलाई भड्खालोमा हाल्ने काम नगर्नु होस्।’

उनले अझ भने, ‘पहाडको नेताहरूले अर्को पार्टीमा हुँदा पट्टाको विरोध गर्दै थिए अनि अहिले भागोप्रमोमा आएर फेरि पाँच डेसिमल पट्टा राम्रो हो भन्दै हिँडदैछ। आफ्नो बयानमाथि अडिग रहन नसक्ने नेताहरूको भरोसा नगर्नु होस्।’