मदारिहाट: सन् १९३२ मा गठन भएको दार्जीलिङको ९१ वर्ष पुरानो संस्था ‘गोर्खा दु:ख निवारक सम्मेलनका वरिष्ठ पदाधिकारीगणहरुका एक विशेष टोलीले आज डुवर्सका वयोवृद्ध समाजसेवी, भाषा संग्रामी बीएम योञ्जन (बुद्धिमान योञ्जन)लाई उनको निवास डुवर्सको मदारिहाटमै स्मृति चिन्ह, दोसल्ला, खदामाला अर्पणका साथ सम्मान जनाएका छन्।
टोलीमा सम्मेलनका अध्यक्ष बी बी गुरुङ, उपाध्यक्ष भुवन गिरी ,मूलसचिव केशव कुमार गुरुङ, सहसचिव देवकुमार प्रधान साथै उनकी श्रीमती, प्रविण जिम्बा साथै उनकी श्रीमती थिए भने सम्मान जनाउने समय साक्षीको रुपमा डुवर्सका वयोवृद्ध कथाकार कृष्ण योञ्जन ‘गडबडे’, मिनिल्याण्ड इंग्लिस स्कूलका प्रिन्सिपल साथै युवा सचेतक विनोद मोक्तान, पत्रकार हर्कु तामाङ, शनि तामाङ वाहेक परिवार पक्षका सदस्यहरू उपस्थित थिए।
डुवर्समा माइला बाउ भनेर चिनिने वयोवृद्ध समाजसेवी तथा भाषा संग्रामी बीएम योञ्जनको शारीरिक अस्वस्थ्यता र कमजोरीको कारण उनलाई दार्जीलिङमै निम्त्याएर भव्य कार्यक्रमबीच सम्मान जनाउन नसके पनि आज डुवर्समै उनको निवासमा आएर यो सम्मान ३२औं नेपाली भाषा मान्यता स्मरण दिवसको उपलक्ष्यमा स्मृति चिन्ह प्रदान गर्दै सम्मान जनाएको सम्मेलनका अध्यक्ष बीबी गुरुङले बताएका छन्। भाषा संग्रामकालमा त्यसताक डुवर्सको जलपाइगडी जिल्लाबाट उहाँ एक सक्रिय प्रतिनिधि थिए, उनको दीर्घकालिन भाषाप्रति प्रेम, सामाजिक उत्थान र समृद्धिका लागि खर्चेका समयको उचित मूल्यांकन हुनपर्ने आजको आवाश्यक्ता हुनाले उनलाई विर्सन नहुने भएकोले यहाँ आएको बताएl आफूलाई जनाएको बारेमा बीएम योञ्जनले ‘गोर्खा दु:ख निवारक सम्मेलन, दार्जीलिङप्रति कृतज्ञता प्रकट गरेका छन्।