४ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्ट आइतवारदेखि शुरु भयो। रामझोड़ा फूटबल मैदानमा खेलिएको उद्घाटन म्याचमा पलासबारी बिक्की एकाडमीले इज्रायल गुरुङ फूटबल एकाडमीलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उत्तम महालीले २०औं र ६०औं मिनटमा २ गोल गरे। यसबाहेक सञ्जीत ओरावँले अन्य एउटा गोल गरे। यसरी इज्रायल गुरुङ फूटबल एकाडमीबाट विलियमले ७०औं मिनटमा १ गोल गरे।

उत्तम महालीलाई हीरो अव् द म्याच चयन गरियो। उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा विशाल गुरुङ (जिल्ला परिषद सदस्य) उपस्थित थिए। यसबाहेक जुगेश राई र बिट्टु अग्रवालको विशेष उपस्थिति रहेको थियो। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।