३ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा गाड़ीधुरा एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आइतवार भएको म्याचमा गाड़ीधुरा एफसी-ले मालीभिट्टा एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल गर्ने सुहैल गुरुङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।