यो वर्षको अरुगि साहित्यिक पुरस्कार गान्तोकका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिने

IMG-20230903-WA0326.jpg

खरसाङ: प्रत्येक वर्ष खरसाङबाट प्रदान गरिने अरूगि साहित्यिक पुरस्कार यसपाली गान्तोकका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिने भएको छ। खरसाङको अरुगि साहित्य संस्थानले आगामी १ अक्टोबर आइतबारको दिन खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा अरुगि साहित्यिक पुरस्कार समारोह आयोजित गर्ने निर्णय गरेको छ। यस समारोहमा वर्ष २०२३ को अरुगि साहित्यिक पुरस्कार तादोङ, गान्तोक, पूर्व सिक्किमका साहित्यकार प्रद्युम्न श्रेष्ठलाई प्रदान गरिनेछ। संस्थाका सचिव ग्याल्पो लामाले एक विज्ञप्तिमा उक्त जानकारी दिदै भनेका छन्, संस्थानले आफूलाई असमञ्जस्तामा नराखी साहित्यकारको चयन गरिदिने नम्र आग्रह विज्ञ निर्णायकहरूलाई गरेको थियो। हाम्रा विज्ञ निर्णायकहरूले सोही अनुरूप आफ्नो उत्तरदायित्व उठाइदिए र बड़ो सतर्कताको साथ निर्णय दिएका छन्। गान्तोकका एकजना वरिष्ठ साहित्यकार एवम् कविलाई अरुगि साहित्यिक पुरस्कारको निम्ति हाम्रा निर्णायक मण्डलीले चयन गरेको छ। उनलाई अरुगि साहित्य संस्थानले १ अक्टोबर आइतवारको दिन खरसाङको पार्क लोकेशनस्थित गोर्खा सार्वजनिक भवनमा आयोजित हुने साहित्यिक कार्यक्रमबीच उक्त पुरस्कारले सम्मान गरिनेछ। लामाले अघि भनेका छन्, साहित्यकार प्रद्युम्न श्रेष्ठ सिक्किममा जन्मेका हुन् अनि ६ माइल, तादोङ, गान्तोक पूर्व सिक्किमका खाँटी बासिन्दा, वरिष्ठ साहित्यकार एवम् कवि हुन्। साहित्यकार प्रद्युम्न श्रेष्ठको जन्म माता इन्द्रमाया प्रधानको कोखबाट २१ मार्च १९५४ सालमा भएको थियो। उनका पिता हुन् कृष्णाचन्द्र प्रधान। आज उनका माता-पिता दुवै जीवित छैनन्। साहित्यकार प्रद्युम्न श्रेष्ठ अवकाश ग्रहण गरिसकेका एक कर्मचारी हुन्। उनले बीई (सिभिल) सम्मको शिक्षा लिएका थिए। उनले पुष्प बाटिका-कविता संग्रह-१९८५, मेरा केही स्मृतिहरू-संस्मरण-१९९४, मेरा केही स्मृतिहरू-संस्मरण (भाग २)-१९९६ लगायत ११ वटा साहित्यिक कृतिहरू नेपाली साहित्य जगतमा चढ़ाइसकेका छन्। एघारवटा पत्रिकाहरूको सम्पादन पनि गरिसकेका छन्। दुइवटा संस्थाका उनी ट्रष्टी छन् भने ६ वटा संस्थाका संरक्षक हुन्। यसै गरी उनी आठवटा संस्थाका आजीवन सदस्य अनि 6 वटा संस्थाका सदस्य रहेर साहित्य र समाजको निम्ति काम गरिरहेका छन्। नेपाली भाषा र साहित्यप्रति गहिरो योगदान अर्पण गरेवापत् उनलाई सत्रवटा साहित्यिक अनि सामाजिक संस्थाहरूले अघिबाटै पुरस्कार र अभिनन्दन चढाइसकेका छन्। श्रेष्ठका अझैं पाँचवटा कृतिहरू प्रकाशोन्मुख छन्। यी कृतिहरू चाँडै बजारमा देखा पर्नेछन् भन्ने कुरोमा हामी आशावादी छौँ। अरुगि साहित्य संस्थानले अरुगि साहित्यिक पुरस्कारको रुपमा आगामी समारोहबीच प्रशंसा पत्र, दोसल्ला, अरुगि अङ्कित प्रतिक अनि नगद राशि पुरस्कार उपस्थित अतिथिहरूको बाहुलीबाट प्रदान गरी उनलाई सम्मानित गर्नेछ। यस वर्षको अरुगि पुरस्कारले पुरस्कृत हुने वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठलाई मुरीमुरी बधाईको साथमा धेरै धेरै शुभकामना चढाउँदछ अरुगि साहित्य संस्थान भनी ग्याल्पो लामाले विज्ञप्तिमा भनेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *