गान्तोकः सिक्किमका अन्जन खनाल र दिवाकर सेवाले बीसीसीआईको म्यानुअल स्कोरिङ कोर्स र परीक्षा उत्तीर्ण गरेका छन्। यो उपलब्धि हासिल गर्ने उनीहरू सिक्किमकै पहिलो रहेको जानकारी सिक्किम क्रिकेट एसोसिएशन प्रेस विज्ञप्तिमा जानकारी गराएको छ। विज्ञप्ति अनुसार, बीसीसीआईले ३१ जुलाईदेखि ३ अगस्तसम्म गुवाहाटीमा तीन दिवसीय म्यानुअल स्कोरिङ कोर्स र परीक्षा आयोजन गरेको थियो। यसमा छवटा पूर्वोत्तर राज्यका ३० जना उम्मेदवार सहभागी बनेका थिए भने केवल छजना उत्तीर्ण भएका छन्। यसमा सिक्किमका अन्जन र दिवाकर पनि सामेल छन्।
अन्जन खनाल र दिवाकर सेवाले २०१९ देखि म्यानुअल र डिजिटल स्कोरर्को रूपमा सिक्किम क्रिकेट एसोसिएशनलाई सेवा पुऱ्याइरहेको बताइएको छ। यो उपलब्धिपछि अब उनीहरू भारतमा खेलाइने सबै घरेलू म्याचहरूमा स्कोर रेकर्ड गर्न अधिकृत बनेका छन्। सिक्किम क्रिकेट एसोसिएशनले दुवैलाई यस उपलब्धिको निम्ति बधाई दिएको छ। उनीहरूको कड़ा परिश्रम, समर्पण र प्रतिबद्धताले एसोसिएशनका साथै राज्यलाई पनि गौरवान्वित तुल्याएको एसोसिएशनले बताएको छ।